काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान परमादेश सरकारको काम भनेको एमाले सरकारले गरेका कामको खारेजी मात्र रहेको टिप्पणी गर्नुभएको छ । एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘त्यस संस्कृतिको काम के भन्दा प्रगतिशील र जनपक्षीय शक्तिका विरुद्ध आक्रमण केन्द्रित गर्ने । यसलाई उहाँहरू लोकतान्त्रिक संस्कृति भन्नुहुन्छ । सुरु कसरी गर्नुहुन्छ भने नेकपा एमाले सरकारका पालामा गरिएका राम्रा काम र नियुक्तिको खारेज गरेर ।’ उहाँले देउवा नेतृत्वको सरकार लोकतान्त्रिक बाटोबाट नभएर अपवित्र गठबन्धनबाट बनेर आएको बताउनुभयो ।
देशमा अहिले बहुदलीय प्रतिस्पर्धात्मक प्रणालीमा विश्वास नगरेर अपवित्र गठबन्धनको संस्कृतिको विकास हुँदै गएकोमा अध्यक्ष ओलीले असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले माधव नेपालबाट यसपटक भएको गल्ती सानो तिनो नरहेको भन्दै अझै पनि आफूले माफी दिएको बताउनुभयो । विपक्षी पार्टीलाई प्रधानमन्त्री बनाउन फ्लोर क्रस गर्ने कुरा सामान्य अपराध नभएको उहाँको भनाइ थियो । उहाँले परमादेश ल्याउन निर्लज्ज काम भएको भन्दै नेता नेपालप्रति पनि आक्रोश व्यक्त गर्नुभयो । ‘परमादेश ल्याउन यति निर्लज्ज अन्तर्घात, असंसदीय, अनुशासनहीन काम इतिहासमा कहीँ पाइँदैन’, उहाँले भन्नुभयो, ‘हाम्रै भित्रका अन्तरघातीहरुबाट यो कुरा भएको छ। नामका वामपन्थी कामका दक्षिणपन्थीहरुको पनि सहभागितामा सरकार बन्ने कोसिस भएको छ।’