काठमाडौँ । लुम्बिनी प्रदेशसभाका एमाले सांसदहरुले अविश्वास प्रस्तावविरुद्ध सर्वोच्चमा रिट दायर गर्नुभएको छ । अविश्वासको प्रस्ताव फिर्ता गर्न माग गर्दै सत्तारुढ दल नेकपा एमालेका सांसदहरुले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको हो ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीका अनुसार काठमाडौंमा रहेका एमाले सांसदहरु रिट लिएर सर्वोच्चमा जानुभएको छ । उहाँले भन्नुभयो, ‘संविधानको धारा १६८(१) अनुसार नियुक्त मुख्यमन्त्रीविरुद्ध दुई वर्षसम्म अविश्वासको प्रस्ताव ल्याउन नपाइने उल्लेख हुँदाहुँदै प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता र विशेष अधिवेशन आह्वान गरिएकाले हामी सर्वोच्च गएका हौं ।’
यता सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले लुम्बिनी प्रदेशका एमाले सांसद लीला गिरीले अविश्वास प्रस्तावविरुद्ध दिएको रिट दर्ता भएको बताउनुभयो । यसअघि अधिवक्ता प्रवेश केसीले अविश्वास प्रस्तावमाथि छलफल गर्न बोलाइएको विशेष अधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा पेश गरेको रिट सर्वोच्चका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरले दरपीठ गर्नुभएको थियो । त्यसपछि लुम्बिनी प्रदेशको सत्तारुढ दल एमाले अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको अधिवेशन बोलाउने प्रदेश प्रमुखको निर्णयविरुद्ध अदालत गएकाे हो ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदहरुले साउन १९ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । अविश्वासको प्रस्तावमाथि छलफल गर्न साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन डाकिएको छ ।