काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता डा. सूर्य पाठकले भारत सरकारसँग औँला उठाएर प्रश्न गर्न सक्ने नेपालको एकमात्र नेता केपी शर्मा ओली भएको बताउनुभएको छ । उहाँले एमाले अध्यक्ष ओलीबाहेक अरु कसैले पनि भारतसँग औँला उठाएर प्रश्न गर्न नसक्ने ठोकुवा गर्नुभयो ।
परमादेशबाट गठित देउवा सरकारले भारतसँग प्रश्न गर्न नसकेकै महाकालीमा तुईन काटेर नेपाली मर्दासमेत आमनेपाली रमिते बन्नुपरेको बताउनुभएको छ । उहाँले गठबन्धन सरकार महाकाली घटनाबारे भारतसँग चुइँक्क नबोलेकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । भारतसँग बोल्न यो सरकार नसकेको हुनाले यो घटनाको छानबिन हुन नसकेको उहाँले बताउनुभयो ।
एमाले नेता डा. सुर्य पाठकले सारा नेपाली जनताको अगाडि भारतीयले तुईन काटेर खसाल्दा समेत सरकारले भारत सरकारको धारणा नसोधेकोमा अचम्म लागेको बताउनुभयो ।
नेता पाठकले केपी ओली नेतृत्वको सरकारलाई स्मरण गर्दै भन्नुभयो, ‘केपी ओली सरकार भएको भए भारतीय राजदूतलाई बोलाई प्रश्न गरिसक्थे ।’ वर्तमान गठबन्धनको सरकार देश र जनताको पक्षमा नभएर कुुुर्सीका लागि मात्र लडेको उहाँको आरोप थियो । ‘नेपाली कांग्रेस सरकारमा छ तर यसले कुन वर्गको प्रतिनिधित्व गर्छ भन्ने स्पष्ट छैन, भूमि आयोग खारेज गरेर काँग्रेस गरिब सुकुम्बासीको पक्षमा नरहेको उहाँले बताउनुभयो ।