काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाजस्ता असफल व्यक्तिले सर्वत्र सत्ता सम्हाल्नु देशकै विडम्बना भएको भन्दै कडा अभिव्यक्ति दिनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् सभापति देउवाले तोकिएको समयमा महाधिवेशन गर्न नसकेको भन्दै यस्तो टिप्पणी गर्नुभएको हो ।
नेता पौडेलले सभापति देउवालाई संकेत गर्दै सर्वत्र असफल व्यक्ति बारम्बार सत्ता समाल्न पुगेको बताउनुभएको छ । ‘यो देशकै विडम्बना हो । सर्वत्र असफल व्यक्तिहरु बारम्बार सत्ता समाल्न पुग्छन्,’ पौडेलले सामाजिक सञ्जालमा उल्लेख गर्नुभएको छ ।
नेता पौडेलले पार्टीको महाधिवेशनसमेत गर्न नसक्ने असफल देउवा नै प्रधानमन्त्री बनेको भन्दै देशकै बिडम्बना भएको बताउनुभएको छ । पार्टी विधानअनुसार हरेक चार वर्षमा गरिसक्नुपर्ने महाधिवेशन थपिएको साढे एक वर्ष वितिसक्दा पनि हुन नसकेको भन्दै नेता पौडेलले नेतृत्वको चरम लापरबाही र असफलता भएको बताउनुभएको छ । सभापति देउवाले नै नेपाली कांग्रेसलाई निर्वाचन आयोगसँग भिख माग्ने निरीह अवस्थामा पुर्याएको उहाँले टिप्पणी गर्नुभयो ।
नेपाली कांग्रेसले भदौमा तोकेको महाधिवेशन गर्न नसकेपछि ६ महिना थप गर्न निर्वाचन आयोगसँग छलफल गर्ने बताइरहेका बेला नेता पौडेलको यस्तो अभिव्यक्ति आएको हो ।