काठमाडौं । परमादेशबाट गठित देउवा सरकारले गरेको भूमिसम्बन्धी समस्या समाधान आयोग खारेजीको निर्णय बदर गर्न माग गर्दै विघटित आयोगका अध्यक्ष देवी ज्ञवालीले सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
भूमि आयोग खारेज गर्ने सरकारको निर्णय संविधानले व्यवस्था गरेको नागरिकको मौलिक हकविरुद्ध रहेको भन्दै ज्ञवालीले सो निर्णय बदर गर्न माग गर्दै आइतबार रिट दायर गर्नुभएको हो ।
आयोग विघटनका सम्बन्धमा आइतबार नै थप दुई रिट दायर भएका छन् । यसअघि शुक्रबार पनि आयोग खारेजीविरुद्ध दुईवटा रिट दायर भएका थिए । अहिलेसम्म आयोग खारेजसम्बन्धी पाँचवटा रिट दायर भइसकेका छन् । सर्वोच्चले हालसम्म दायर रिटहरु एउटै ठाउँमा राखेर भोलि सुनुवाइ गर्ने भएको छ ।




















