काठमाडौं । सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रका बाढीपीडितलाई राहत दिने काममा तीव्रता दिन नसकेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरे पनि त्यसअनुसारको काममा तीव्रता दिन नसकेको उहाँको भनाइ छ ।
आइतबार बिहान आफ्नै निवास खुमलटार पुगेका बाढीपीडितहरुसँगको भेटमा प्रचण्डले भन्नुभयो, ‘अहिले सरकारले सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् संकटग्रस्त जिल्ला त घोषणा गर्यो । तर त्यो घोषणालाई फलोअप गर्ने खालका क्रियाकलापहरु तीव्रताका साथ अगाडि बढ्यो कि बढेन ? भन्दा अझै पनि ती गतिविधिहरु तीव्रताका साथ अगाडि बढेका छैनन् । त्यसैकारण तपाईंहरु प्रधानमन्त्रीसहित सबै नेताहरुलाई ध्यानाकर्षण गराउन आउनुपरेको भन्ने मलाई लाग्छ ।’
प्रचण्डले सो क्षेत्रका बाढीपीडितलाई राहत दिलाउन आफ्नो पार्टीले सरकारलाई घचघच्याउने र उत्प्रेरित गर्ने प्रतिवद्धता जनाउनुभयो । आफ्नो पार्टीको तर्फबाट पनि सो क्षेत्रका बाढीपीडितलाई सकेको सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र आफूसहितले एकपटक मेलम्ची र त्यस वरपरको क्षतिको अवलोकन गर्न चाहेको पनि प्रचण्डले बताउनुभयो ।
नेपालमा प्राकृतिक प्रकोप बढदै जानुमा जलवायु परिवर्तन लगायतले पनि भूमिका खेलेको हुन सक्ने भन्दै प्रचण्डले त्यसलाई न्यूनीकरण गर्ने दिशामा सरकारले संयुक्त राष्ट्रसंघ लगायतका सम्बन्धित निकायमा पनि छलफल गर्नुपर्ने अवस्था आएको उहाँले बताउनुभयो ।




















