काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) स्थायी कमिटी बैठक यही साउन २५ गते विहान ११ बजे र केन्द्रीय कमिटी बैठक सोही दिन अपराह्न ३ बजे बस्ने भएको छ । ती दुवै बैठक ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बस्ने भएको हो ।
पार्टीमा असन्तुष्ट पक्षको वार्ता सहभागितालाई ध्यानमा राखेर २४ गते तोकिएको बैठक एक दिन पछि सारिएको सो पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।
पार्टीमा देखिएको विवाद समाधान गर्दै पार्टी एकता जोगाउन एमालेको संस्थापन पक्ष लचिलो बनेको छ । नेता माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठकले पार्टी एकतामै जोड दिएपछि संस्थापन पक्ष लचिलो बनेको हो ।
नेपाल पक्षकै आग्रह अनुसार संस्थापन पक्षले आजका लागि बोलाएको केन्द्रीय कमिटी बैठक एक दिन सारेको हो । आन्तरिक गृहकार्य र पार्टी एकतालगायत विषयमा थप छलफल गर्नुपरेकाले बैठक सारिएको तामाङले बताउनुभयो ।




















