काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले सदस्यता वितरण र नवीकरण लगायतका सांगठनिक गतिविधि नगर्न संस्थापन पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
शुक्रबार सम्पन्न सो पक्षको केन्द्रीय सदस्यहरुको बैठकले चार बुँदे निर्णय गर्दै एकता प्रक्रियामा अवरोध हुने गरी पार्टी सदस्यता वितरण र नवीकरण लगायतका सांगठनिक गतिविधि नगर्न ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।
बैठकले अहिलेसम्म भएका सबैखाले सहमतिलाई आधार मानेर एकताप्रक्रिया अझ परिष्कृत बनाउने र संवादलाई निरन्तरता दिने निर्णय गरेको छ । १० बुँदे लगायतका सहमतिले एकताको आधार तयार गरेको र पार्टीलाई एकताबद्ध बनाउन थप सजगतासाथ अगाडि बढ्नुपर्छ भन्ने बैठकको निर्णय रहेको नेता रघुजी पन्तले बताउनुभयो ।
बैठकले विभिन्न नेतालाई लाञ्छना लगाउने र आरोपित गर्ने काम दुवै पक्षबाट हुन नहुनेमा ध्यानाकर्षण समेत गरेको छ भने प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेको पन्तले बताउनुभयो ।
पन्तले सरकारमा जाने बिषयमा बैठकमा कुनै छलफल नभएको र आफुहरु सरकारमा नजाने जानकारी दिनुभयो ।
बैठकलाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले आफूलाई जति गाली गरे पनि एमाले एकताको पक्षमा आफू रहेको बताउनुभएको थियो । केन्द्रीय कमिटीका सदस्यहरुले पार्टीलाई एकतावद्ध बनाउनुपर्नेमा जोड दिएको नेता पन्तले बताउनुभयो ।
https://youtu.be/NYl2BF40UXE