काठमाडौं । डा. गोविन्द केसीले स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले तत्काल राजीनामा दिनुपर्ने माग राख्नुभएको छ । राजीनामा नदिए आमरण अनसन बस्ने चेतावनी उहाँले दिनुभयो ।
स्वास्थ्य क्षेत्रको सुधारका लागि संघर्षरत डा. गोविन्द केसीले सरकारसमक्ष विभिन्न पाँचबुँदे माग राख्दै माग पुरा नभए अनशन बस्ने घोषणा गर्नुभएको हो । आफ्ना माग पूरा नभए आगामी भदौ ३ गतेदेखि सत्याग्रह सुरु गर्ने केसीले घोषणा बताउनुभयो ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने केसीको पहिलो माग छ । स्वार्थको द्वन्द्व उत्पन्न हुने गरी राज्यमन्त्री नियुक्त गरिएको भन्दै उहाँले तत्काल पदमुक्त गर्नुपर्ने माग राख्नुभएको छ ।
डा. केसीको मागपत्रमा भनिएको छ- हप्तौंसम्म स्वास्थ्यमन्त्री नियुक्त नभएको अवस्थामा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा लाने प्रयास गरेको छ । महामारीको यस्तो जटिल मोडमा कुशल र स्वार्थको द्वन्द्व नहुने व्यक्तिलाई तत्काल स्वास्थ्यमन्त्री र राज्यमन्त्री नियुक्त गर्नुको विकल्प छैन ।