काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक शुरु भएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकले माधव नेपाल समुहलाई कारबाही हुन सक्ने बुझिएको छ । माधव नेपाल समुहले नेकपा एमालेको नाम दुरुपयोग गरेको भन्दै हिजो एमाले केन्द्रीय कार्यालयले आपत्ति जनाएको थियो ।
एमालेको नाममा पटक–पटक अनधिकृत गतिविधि गर्ने र त्यस्तो गतिविधि उपर संविधान, प्रचलित कानुन र पार्टीको विधानसमेत आकर्षित हुने भएकोले त्यस्ता गतिविधिमा नलाग्न सबैलाई पार्टीले आग्रह गरे पनि माधव समूह हिजोदेखि आफु निकट केन्द्रिय सदस्यहरुसँग छलफलमा जुटेको छ । नेपाल समूहले बैठकपछि नयाँ पार्टी दर्ता गर्ने एमाले संस्थापनको अनुमान छ । पार्टीमा सहमति कायम गर्नका लागि लामो समयदेखि लागिपरिरहेका एक नेताका अनुसार अब पार्टी बनिने भन्दा पनि भत्किने बाटोतिर गएको छ । ‘पार्टी बचाउनलाई धेरै प्रयत्न गरियो तर अब भत्केला जस्तो छ,’ निराश हुँदै ती नेताले भन्नुभयो, ‘आजको स्थायी कमिटीको बैठकले धेरै कुराहरुको छिनोफानो गर्दछ ।’