काठमाडौं । सर्वोच्चको बलमा गठन भएको परमादेश देउवा सरकारको भूमि आयोग खारेज गर्ने निर्णयविरुद्ध युवा संघ नेपालले ब्यापक रुपमा विरोध प्रदर्शन गरेको छ ।
युवासंघले बिहीबार मनोहरा सुकुम्बासी बस्ती क्षेत्रमा प्रदर्शन गर्दै सरकारविरुद्ध चर्को नाराबाजी गरेको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा सरकारले भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको भूमिसम्बन्धी समस्या अन्त्य गर्ने भन्दै देवीप्रसाद ज्ञवालीको अध्यक्षतामा २ वैशाख २०७७ मा भूमि आयोग गठन गरेको थियो ।
आयोगले तिव्ररुपमा काम गरी जग्गा वितरण गर्ने तयारी गरीरहेका बेला देउवा सरकारले १९ साउनमा आयोग खारेज गर्ने निर्णय गरेको थियो । सरकारको कदमबाट भूमिहिन सुकुम्बासीको जग्गा पाउने आशामा तुषारापात भएको भन्दै युवा संघ नेपालले चर्को विरोध गरेको छ । प्रदर्शनमा सहभागीहरुले भूमि आयोग पुनस्र्थापित नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । साथै उनीहरुले तत्काल सरकारले भूमि आयोग पुनःस्थापित गर्न समेत माग गरेका छन् । आफूहरुको मागलाई बेवास्ता गरिए आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनीसमेत दिएका छन् ।