काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यही भदौ २३ पछि अहिलेको केन्द्रीय कार्यसमितिको वैधानिकता सकिने स्पष्ट पारेका छन् । आज पूर्वमहामन्त्री प्रकाशमान सिंह निवास चाक्सीवारीमा पौडेल समूहका शीर्ष नेताहरुबीच भएको छलफलपछि पत्रकारहरुलाई प्रतिक्रिया दिँदै नेता पौडेलले पार्टी वैधानिकता जोगाउन पनि महाधिवेशन वा विशेष महाविधेशन गर्नेपर्ने वाध्यता रहेको बताएका छन् ।
नेता पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजाल र बलबहादुर केसीलगायतका नेता सहभागि वैठकमा संवैधानिक रुपमा पाँच वर्ष ६ महिनाभित्र महाधिवेशन गरिसक्नुपर्ने व्यवस्था भएको र प्रक्रिया पुर्याएर महाधिवेशन गर्न समय नभए वैधानिकता जोगाउन विशेष अधिवेशन गर्न सकिने बारे छलफल भएको बताइएको छ ।
यसअघि बुधबार बसेको कांग्रेसको बैठकमा पौडेलले विशेष महाधिवेशन प्रस्ताव गरेका थिए। तर सभापति देउवाले त्यसलाई अस्वीकार गर्दै भदौमै पार्टी महाधिवेशन जसरी पनि गरिछाड्ने अडान लिएका थिए । देउवा पक्ष आफ्नो अडानबाट पछि नहटेको अवस्थामा पौडेल समूहले आफ्नो रणनीति बनाउन थालेको हो ।
भदौ १६–१९ सम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय भएपनि क्रियाशील सदस्यताको विवादका कारण महाधिवेशन अनिश्चित बन्दै गएको छ । साउन १२ देखि वडातहको अधिवेशन शुरु गर्ने भनिएपनि सो स्थगित भएकोछ । यसले गर्दा कांग्रेसको महाधिवेशन तोकिएको मितिमा नहुने निश्चित जस्तै देखिन्छ ।