काठमाडौं । लुम्बिनी प्रदेशसभाका नेकपा एमालेका मुख्य सचेतक भूमिश्वर ढकालले प्रदेशसभा सदस्य विमला खत्री वली आफ्नै इच्छा तथा राजीखुसीमा मुख्यमन्त्री निवास जानुभएको बताउनुभएको छ ।
सचेतक ढकालले आफ्नै खुसीले दाङबाट मुख्यमन्त्रीको निवास जानुभएका सांसद वलीले आफू एमालेमै फर्किएको विज्ञप्ति पनि सार्वजनिक गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो- विमला वली बच्चा हो र ललाईफकाइ वा जबर्जस्ती गर्न । उहाँकै चाहना र इच्छाअनुसार सबै काम भएको हो ।
दाङबाट बुटवलस्थित मुख्यमन्त्रीको निवासमा ल्याउने बेला विमलासँगै सांसद वलीकी दिदी र भिनाजुको भाइ पनि सँगै गाडीमा रहेको ढकालले बताउनुभयो । मुख्यमन्त्री निवासमा बन्धक बनाइएको, जबर्जस्ती हस्ताक्षर गराइएको लगायतका सबै आरोप वाहियात भएको उहाँको दावी छ ।