काठमाडौं । नेकपा एमालेका नेता डा.राजन भट्टराईले नेता माधव नेपालले पटक–पटक बोली फेरिरहेको बताउनुभएको छ ।
एक कार्यक्रममा बोल्दै डा. भट्टराईले आफ्नै प्रतिनिधिले हस्ताक्षर गरेको विषयमा माधव नेपाल किन प्रतिबद्ध हुनुहुन्न ? किन पटक-पटक बोली फेरिरहनुभएको छ ? किन ब्याक हुँदै जानुभएको छ ? भनी प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, उहाँहरुले हिजो उठाउनुभएको सहमतिका बिषयहरु यो यो हुन् भनेर १० बुँदे सहमतिमा संशोधन भइसकेको छ, सबै बिषयहरुको सम्बोधन पार्टीका अध्यक्ष केपी शर्मा ओलीले गरिसक्नुभएको छ । तर नयाँनयाँ कुरा थपिरहनुले के आशंका जन्माएको छ भने उहाँहरु सहमति भएका विषयमा उभिन तयार हुनुहुन्न ।
डा. भट्टराईले नेपाल समूहलाई ओली पक्षबाट भन्नुपर्ने र गर्नुपर्ने काम सबै गरिसकेको बताउनुभयो । अध्यक्ष केपी ओलीको नेतृत्वमा पार्टी पहिलो निर्णायक शक्ति र दुई तिहाइ मतसहितको सरकार बनाएको दाबी गर्दै उहाँले पुष्पकमल दाहाल प्रचण्डको महत्वाकांक्षा र माधव नेपालको पराजय स्वीकार्न नसक्ने स्वभावका कारण समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो,–‘दुवै नेताले अब भविष्य धरापमा पर्छ भनेर सरकारलाई घेराउमा पारे, सबै खाले शक्ति एकै ठाउँमा उभिएर जननिर्वाचित निकायबाट सम्भव नभएपछि अदालतबाट विस्थापित गराए ।’ अहिलेको संसद् र सरकारले कुनै पनि निकास नदिने भएकाले ताजा जनादेशमा जानुपर्ने नेता भट्टराईको तर्क थियो।
अध्यक्ष ओलीले पार्टीको नेतृत्व २०७१ को नवौँ महाधिवेशनबाट सम्हाल्नु भएपछि कहिल्यै पहिलो नहुने पार्टीले जुनखालको उचाई प्राप्त ग-यो केपी ओलीको नेतृत्वमा नेकपा एमाले यस्तो भइरह्यो भने अरुको भविस्य चाहिँ धेरै अन्योल हुने भन्दै यो हर्कत उनीहरुले सुरु गरेको भट्टराईको दावी थियो । अध्यक्ष ओली सत्तामा रहुन्जेल नेतृत्व हत्याउन निकै समय लाग्ने र फेरि आफु बन्न पाउने कि नपाउने चिन्ताले सवै षडयन्त्रकारीहरु मिलेर ओलीलाई घेरावन्दी गरेको उहाँले टिप्पणी गर्नुभयो ।