काठमाडौँ । माधव नेपाल समूहले एमालेको केन्द्रीय समितिको बैठक भनी बोलाएको भेलाप्रति नेकपा एमालेले गम्भीर आपत्ति जनाएको छ । सो पार्टीको केन्द्रीय कार्यालयले नेकपा एमालेको नाम दुरुपयोग गरेको भन्दै गम्भीर आपत्ति जनाएको हो ।
नेपाल समूहले आज केन्द्रीय कमिटीको बैठक भन्दै आफूपक्षीय केन्द्रीय सदस्यलाई काठमाडौं बोलाएको छ । तर नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति जारी गरी आज एमालेको कुनै बैठक नभएको स्पष्ट पार्नुभएको छ । ‘नेकपा एमालेको नामबाट श्रावण २१ गते केन्द्रीय कमिटीको बैठक भन्ने सुनिन आएकोले एमाले केन्द्रीय कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ तामाङले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘श्रावण २१ गते पार्टीको कुनै बैठक आयोजना गरिएको छैन ।’
एमालेको नाममा पटक–पटक अनधिकृत गतिविधि गर्ने र त्यस्तो गतिविधि उपर संविधान,प्रचलित कानुन र पार्टीको विधान समेत आकर्षित हुने भएकोले त्यस्ता गतिविधिमा नलाग्न एमाले सम्बद्ध सम्पूर्ण नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरिएको छ ।