काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेत खिमलाल भट्टराईले लाखौँ भूमिहीनको पेटमा लात हान्ने वर्तमान परमादेश सरकारको जति निन्दा गरे पनि कम हुने बताउनुभएको छ । आज बसेको राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै उहाँले सरकारका पछिल्ला निर्णयले यो सरकार जनविरोधी भएको प्रमाणित भएको बताउनुभयो ।
प्रमुख सचेतक भट्टराईले भूमिसम्बन्धी समस्या समाधान आयोग भंग गरेर सरकारले लाखौं लाख भूमिहीन सुकुम्बासीको पेटमा लात हानेको बताउनुभयो । “भूमिहीन सुकुम्बासी जनतामा आफ्नो जीवनमा परिवर्तन आउने आशाले खुशीको लहर छाइरहेको थियो,तर यति नै बेला परमादेश सरकारबाट यो आयोग भंग गरिएको छ, यो आयोग भंग गरिएको मात्र होइन ती तमाम भूमिहीन सुकुम्बासी जनताको सपनालाई भंग गरिएको हो, सरकारले लाखौं लाख भूमिहीन सुकुम्बासीको पेटमा लात हानेको छ, धनी पूर्जा प्राप्त गर्ने र जग्गाको मालिक बन्ने जनताको बज्र प्रहार गरेको छ,’ उहाँले भन्नुभयो ।
यो निर्णयले सरकार गरिब निमुखा जनताको विरुद्ध छ र यो जनविरोधी सरकार हो भन्ने प्रमाणित भएको सांसद् भट्टराईले बताउनुभयो । उहाँले भन्नुभयो- परमादेश सरकारको यो निर्णयको घोर निन्दा गर्छु र आक्रोश व्यक्त गर्छु ।
यसअघिको केपी शर्मा ओली नेतृत्वको एमाले सरकारले मुलुकबाट भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीको समस्या सधैका लागि अन्त्य गर्ने योजना अनुरुप देशभर अधिकारसम्पन्न भूमिसम्बन्धी समस्या समाधान आयोग बनाएको उहाँले बताउनुभयो । ती आयोगहरु देशभर क्रियाशील रहेर लाखौंको संख्यामा जनतालाई पूर्जा दिने तयारी रहेकै बेला सरकारले आयोग भंग गर्नु जनविरोधी काम भएको उहाँले बताउनुभयो ।
उहाँले जनताको प्यारो पार्टी नेकपा एमाले सधैँ नेपाली जनताको साथमा रहेको बताउँदै उहाँले भन्नुभयो,‘केही दिन र महिनाको कुरा मात्र हो नेकपा एमाले मूल गेटबाटै फेरि सिंहदरबार पस्नेछ र जनताको मुर्छित सपना ब्युझाउनेछ, ती तमाम भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधान गरिछाड्नेछ ।’ साथै उहाँले परमादेश सरकारका जनविरोधी हर्कतविरुद्ध एकताबद्ध हुन सबैलाई अपिल समेत गर्नुभयो ।
उता नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सभासद् गोकुलप्रसाद बास्कोटाले भूमिसम्बन्धी आयोग खारेज हुनुलाई अनपेक्षित मान्न नहुने बताउनुभएको छ । सामाजिक सञ्जालमार्फत उहाँले नेपाली कांग्रेसको वर्ग दृष्टिकोण नै सामन्ती भएकाले यसलाई अन्यथा लिन नहुने बताउनुभयो ।
उहाँले लेख्नुभएको छ,‘ परमादेश सरकारद्वारा गरिएको भूमि आयोगको खारेजीलाई म चाहिँ अनपेक्षित कदम ठान्दिन । यो काँग्रेसको वर्ग दृष्टिकोणकै देन हो।’
बास्कोटाले काँग्रेसको वर्ग दृष्किोणमा माओवादी केन्द्रले ल्याप्चे लगाउनुलाई भने अचम्म मान्नुपर्ने बताउनुभएको छ । ‘आफूलाई सर्वहारा वर्गको महान् प्रतिनिधि भन्ने माओवादीले १७ लाख भूमिहीन जनतालाई खुल्ला आकाशमुनि वास राख्ने प्रतिगामी काममा कसरी ल्याप्चे लगायो ?’ सांसद बास्कोटाले प्रश्न गर्नुभयो ।