काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सरकारले आफूमाथि अन्याय गरे सर्वोच्च अदालत जाने चेतावनी दिनुभएको छ । मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्राधिकरणका कार्यकारी निर्देशक शाक्यको स्थानमा कुलमान घिसिङलाई नियुक्त गर्न निर्देशन दिएको भोलिपल्ट उहाँले आफूमाथि अन्याय भए अदालत जाने चेतावनी दिनुभएको हो ।
प्रमुख शाक्यले आफ्नो राजीनामा माग गरेको नभई वैकल्पिक व्यवस्थाबारे सोधिएको स्पष्ट पार्नुभएको छ । सरकारले आफ्नो राजीनामा नमागेको र आफूले अपमानजनक ढंगबाट राजीनामा समेत नदिने अडान राख्नुहुँदै उहाँले वैकल्पिक कुन जिम्मेवारी दिन सकिन्छ भन्नेबारे कुरा गरेको बताउनुभयो । ‘मेरो क्षमता, अनुसार अहिलेसम्मको दक्षता अनुसार मलाई जहाँ जिम्मेवार दिए पनि सरकारले खटाएको ठाउँमा काम गर्न कुनै गाह्रो छैन’ उहाँले भन्नुभयो । उहाँले अपमानजनक तरिकाबाट नभई सम्मानजनक रुपमा अहिलेको पदबाट बाहिरिन तयार रहेको बताउनुभयो ।
प्रमुख शाक्यले महामारीको बीचमा प्राधिकरणमा बसेर आफुले उल्लेख्य काम गरेको दाबी गर्नुभयो । राजिनामा नदिएर तपाई अदालती प्रक्रियामा जाने हो ? भन्ने पत्रकारको प्रश्नमा भने उहाँले विकल्प दिएर खटाएमा अदालत जानुपर्ने कुनै कारण नहुने बताउनुभयो । अन्याय भयो भने अदालत जाने उहाँले बताउनुभयो ।