काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले दार्चुलामा भारतले निन्दनीय एवं अमानवीय कार्य गरेको बताउनुभएको छ । राष्ट्रियसभाको आज बसेको बैठकमा नेता श्रेष्ठले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।
राष्ट्रियसभाको आजको बैठकमा पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका श्रेष्ठले प्रारम्भिक तथ्यहरुका आधारमा एसएसबीले नै घटना घटाएको निष्कर्षमा पुग्न सकिने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अमानवीय, निन्दनीय, उत्पीडनकारी र क्रुर कार्यको भर्त्सना गर्नुपर्छ । भारतले सार्वजनिक क्षमायाचना गर्नुपर्छ ।’
नेता श्रेष्ठले भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइनको तार काटिदिएकै कारण जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको कुरामा कसैको शंका नरहेको बताउनुभयो । सो घटनामा संलग्न दोषीहरुलाई तत्काल कारबाही गर्नुका साथै हेपाहा प्रवृत्तिको सबैले विरोध गर्नुपर्ने बताउनुभयो ।
छानविन समिति बनाएर परिपक्व कूटनीतिद्वारा सम्वाद गर्ने र आवश्यक पर्दा अडान लिने सरकारको बाटो ठीकै भएको भन्दै सरकारको बचाउसमेत गर्नुभयो । उहाँले सरकारले प्रतिवेदन ल्याउन ढिला गर्न नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रतिवेदन छिटो ल्याएर भारत सरकारसँग गम्भीर विरोध र आपत्ति प्रकट गर्ने, दोषीमाथि कारबाहीको माग गर्ने र पीडित परिवारलाई राहतका लागि तत्काल कदम चालोस् ।’ राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्तामाथि अतिक्रमण कुनै हालतमा स्वीकार्य नहुने भनाइ उहाँको थियो ।