काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एमालेसँगको रिस भूमिहीनमाथि पोख्नु सरकारको लाचारी भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत् यस्तो धारणा अभिव्यक्त गर्नुभएको हो ।
मुख्मन्त्री पोखरेलले सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेकोप्रति आक्रोश व्यक्त गर्नुभएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भूमि आयोगलाई खारेज गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध दबाब सिर्जना गर्न आह्वान गर्दै मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा भन्नुभएको छ, ‘एमालेसँगको रिस भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासीमाथि पोख्नु सरकारको लाचारी हो । गल्ती सच्याई आयोगलाई पुनः सकृय बनाउन सरकारलाई दबाब सिर्जना गरौं ।’
केन्द्रीय भूमि आयोग र ७७ जिल्लाकै भूमि समस्या समाधान आयोग एकमुष्ठ खारेजीको प्रस्ताव उठाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले भूमि व्यवस्था मन्त्रालयलाई सोमबार नै निर्देशन दिएको थियो । आयोगका पदाधिकारी हटाउँदा अदालतबाट अन्तरिम आदेश लिएर फर्किने डरले सरकारले आयोग नै खारेज गरेको छ ।