काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न माग गरेको छ ।
प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेर एमाले सांसद गणेशसिंह ठगुन्नाले यस्तो माग गर्नुभएको हो । उहाँले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन चुडाइदिएका कारण महाकाली नदीमा बेपत्ता भएका जयसिंह धामी प्रकरणको सरकारले औपचारिक रुपमा विरोध जनाउनुपर्ने बताउनुभयो ।
सांसद ठगुन्नाले सरकारले यस घटनालाई संवेदनशील रुपमा नलिएको बताउनुभयो । उहाँले भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउँदै दोषी उपर कारबाही गर्न पनि सरकारसँग माग गर्नुभएको छ । उहाँले सरकारले कर्मचारीस्तरबाट छानबिन समिति गठन गरी घटनालाई साम्य पार्ने प्रयास गरेको आरोप पनि लगाउनुभयो ।
उहाँले भन्नुभयो– ‘सीमामा यसरी नेपाली नागरिकको खुलेआम हत्या हुँदा पनि वर्तमान सरकार भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउँदै दोषीलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई यथोचित क्षतिपूर्ति दिलाउनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानबिन समिति गठनको नाटक गरेर घटनालाई साम्य पार्ने प्रयास गरिरहेको छ । सरकारले यो घटनालाई संवेदनशील लिएको देखिदैँन ।’
उहाँले तुइनका कारण सीमामा यस्ता घट्ना घटिरहने गरेको भन्दै दार्चुला–खलंगा–तिङ्कर–कालापानी सडक खण्डलाई राष्ट्रिय गौरवको सडक घोषणा गरेर दीर्घकालीन समस्या समाधानमा ध्यान दिन पनि जोड दिनुभयो ।
उहाँले भन्नुभयो– ‘दार्चुला–खलंगा– तिङ्कर–कालापानी सडकलाई राष्ट्रिय गौरवको सडक तत्काल घोषणा गरियोस् र यो पुरै सडक नेपाली सेना र स्थानीय युवाहरु संलग्न गरी अभियानका रुपमा पुरा गरियोस् । यो घटनाको औपचारिक रुपमा भारत समक्षविरोध दर्ता गरियोस् र दोषीलाई कारबाही गर्न पहल गरियोस् । मृतकका परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराइयोस् ।’
सांसद ठगुन्नाले सरकारले हालसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको र संसदलाई बिजनेशविहीन बनाएको भन्दै आलोचना पनि गर्नुभयो । सत्तासम्बद्ध दलहरु भागबन्डाको किचलोमा रुमल्लिइरहेको र जनताका कामप्रति वेवास्ता गरिरहेको बताउनुभयो ।