काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा देखिएको आन्तरिक विवाद समाधान गर्न अध्यक्ष केपी शर्मा ओलीपक्षीय नेताहरु सक्रिय हुनुभएको छ । यसै क्रममा पार्टीको आन्तरिक विवाद समाधान गर्न र पार्टी एकता गराउन एमालेका उपमहासचिव विष्णु पौडेल सक्रिय भएर लाग्नुभएको छ । उहाँ पछिल्लो समय पार्टी एकताका लागि अहोरात्र खटिनुभएको छ । पार्टी एकताको प्रयासस्वरुप आज पनि नेता माधवकुमार नेपालसँग नेता पौडेलले भेट्ने हुनुभएको छ ।
उता बिहीबार पनि अध्यक्ष ओलीका पक्षधर अर्का नेता सुवास नेम्वाङले नेता नेपालसँग भेट गरी पार्टीलाई एकढिक्का बनाएर अगाडि लान आग्रह गर्नुभएको थियो । तर, नेता नेपालका अनेक सर्तमाथि शर्तका कारण त्यो भेट उपलब्धिमुलक नभएको बताइएको छ । यसै क्रममा नेता पौडेलले मेलमिलापका लागि आज पनि भेटवार्ताको प्रयास गर्नुभएको छ । उक्त भेटमा नेता पौडेलले पार्टी विवाल मिलाउन छलफल गर्ने बताइएको छ । हिजो नेम्वाङ र नेता नेपालबीचको भेटमा यसअघि कार्यदलले बनाएको १० बुँदे प्रस्तावमा अध्यक्ष ओली र नेपाल बसेर छलफल गर्नेबारे कुरा भएको थियो ।