काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको विवाद छिटो टुंग्याउन निर्देशन दिनुभएको छ । बुधबार पार्टी कार्यालय थापाथली पुग्नुभएका ओलीले यस्तो निर्देशन दिनुभएको हो ।
अध्यक्ष ओलीले शनिबारसम्म पार्टीको विवादलाई समाधान गर्न निर्देशन दिनुभएको छ । उहाँले आफू जति लचिलो भए पनि बाहिर विभिन्न भ्रम फैलाउने काम भइरहेको प्रति असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘म यति लचिलो छु। तर, बाहिर चाहिँ मैले पहल नगरेको भ्रम फिँजाइएको छ। अब धेरै कुर्न सकिन्न। शनिवारसम्म कि वार कि पार गरौँ ।’ प्रधानमन्त्रीबाट हटेपछि पहिलो पटक एमाले मुख्यालय जानुभएका उहाँले महासचिव ईश्वर पोखरेललाई निर्देशन दिँदै भन्नुभयो, ‘जे-जे गर्नुछ, शुक्रबार रातिसम्म गरौँ, शनिवार बिहान स्थायी समिति बैठक बोलाउनुस् । सबै त्यहीँबाट टुङ्ग्याऊँ।’
अध्यक्ष ओलीको उक्त भनाइपछि वार्तामा संलग्न संस्थापन पक्षीय नेताहरु बुधबार रातिदेखि नै पार्टीमा सहमति जुटाउनका लागि सक्रिय भएका छन् । उपमहासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य सुवास नेम्वाङले वरिष्ठ नेता माधव नेपालपक्षीय उपाध्यक्ष भीम रावल र स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलाई फोन गरी अध्यक्ष ओलीको भनाइबारे बताउनुभयो । उहाँहरुले बिहीबार भेट्ने योजना बनाउनुभए पनि भेटको समय भने टुंगो लागिसकेको छैन ।
संस्थापन पक्षले वरिष्ठ नेता नेपाल तत्कालै नआए पनि बाँकी नेताहरुलाई पार्टीमा फर्केर सक्रिय हुन प्रस्ताव गरेको छ। ‘उहाँ आउँदै गर्नुहुन्छ। अहिले कारबाही पनि गर्नुपरेन। बाँकी साथीहरु पार्टी काममा सक्रिय हुँदै पार्टी एकतालाई अघि बढाउन सकिन्छ‘, संस्थापन पक्षका एक नेताले बताउनुभयो ।
पार्टी एकताका लागि नेपाललाई दोस्रो अध्यक्ष दिने विषयमा बहस भए पनि पछिल्लो समय नेता नेपाल त्यसप्रति पनि सकारात्मक नभएको देखिन्छ । बरु उहाँले अर्को अड्को थापेर झलनाथ खनाल या अष्टलक्ष्मी शाक्यलाई दोस्रो अध्यक्ष बनाउनुपर्ने शर्त सञ्चारमाध्यमबाट तेर्स्याएर पार्टीलाई एकजुट हुन नदिने प्रयास गरिरहनुभएको छ ।
पछिल्लोपटक साउन ६ गते केन्द्रीय कमिटीको बैठकअगाडि नेता नेपाल निकट सांसद सोमप्रसाद पाण्डेलाई बालकोट घरमै बोलाएर अध्यक्ष ओलीले पार्टीलाई एकढिक्का बनाउनका लागि नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउन तयार भएको सन्देश पनि पठाउनुभयो । तर नेता नेपाल पूरै पार्टी नै आफूलाई दिनुपर्ने झैँ गरेर अनेक वहाना गर्दै भाउ खोजिरहेको अवस्था छ ।
यसअघि एमाले एक बनाउन गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो । त्यसलाई अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकबाट अनुमोदन गराउनुभए पनि नेता नेपालले त्यसमा असहमति जनाउँदै पार्टीलाई एकढिक्का गर्नबाट रोकिरहनुभएको छ । यद्यपि नेता नेपाल पक्षका नेता तथा सांसदहरु नेता नेपालको निहुँ खोज्ने प्रवृत्तिबाट वाक्क भएर अध्यक्ष ओलीतिरै लाग्ने तर्खर गर्दै गरेका छन् ।