काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई स्पष्टीकरण सोधेको छ । इनसाइडर ट्रेडिङको आरोप लागेपछि धितोपत्र बोर्डलाई अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको हो ।
बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर रहेको फेला परेपछि मन्त्रालयले यस्तो स्पष्टीकरण सोधेको हो ।
बुक बिल्डिङमार्फत नेपालमै पहिलो पटक सर्वोत्तमले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने तयारी गरिरहेको बेला अध्यक्ष ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तमको करिब १२ हजार कित्ता सेयर नामसारी भएको छ ।
बोर्ड अध्यक्षले भित्री सूचनाका आधारमा आफ्नो छोरीको नाममा सेयर किनेर पदको दुरुपयोग गरेको समाचार प्रकाशन भएपछि सो समाचारका विषयमा स्पष्ट पार्न तीन दिनको समय दिएर स्पष्टीकरण सोधेको हो ।
मन्त्रालयले विषयवस्तुको सम्बन्धमा सत्य, तथ्य के हो, सोको स्पष्ट र तथ्यपरक विवरण मन्त्रालयमा बुझाउन भनेको हो ।