काठमाडौँ । देउवा नेतृत्वको वर्तमान मन्त्रिपरिषद् विस्तारमा निकै सकस देखिएको छ । यो सरकार बनेको दुई साता बिते पनि मन्त्रिमण्डल विस्तार गर्न असफल भएको छ । गठबन्धनमा धेरै दलहरु संलग्न भएको र सबैले मन्त्री हुने चाहना राखेका कारण सरकार विस्तार गर्न गाह्रो परिरहेको छ । आज गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद् विस्तार गरिने बताए पनि बैठक नै बस्न सकेको छैन । गठबन्धनका हरेक दलका नेताहरुमा आफ्नो पार्टीलाई धेरै मन्त्रालय चाहिने र त्यसमा पनि मालदार मन्त्रालय नै रोज्ने गरेको हुँदा गठबन्धन सरकार अलमलमा परेको छ ।
आज बिहान गठबन्धनको बैठक बस्ने भनिए पनि त्यो बैठक बस्न सकेन । यद्यपि शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा करिब एक घण्ट भेटवार्ता भयो ।
सो भेटमा मन्त्रिपरिषद् विस्तार र विभिन्न राजनीतिक विषयमा छलफल भएको छ । भेटवार्ता सकेर देउवा सिंहदरबार जानुभएको छ । गठबन्धनको बैठक भने प्रभावित भएको छ ।
बुधबार बसेको सत्तारुढ गठबन्धनको बैठकले छिट्टै मन्त्रिपरिषद् विस्तार गर्ने र मन्त्रीको टुंगो लगाउने जिम्मा शीर्ष नेताहरूलाई दिएको छ । जसपाले मन्त्रीबारे निर्णय गरिनसकेको र एमालेको माधव नेपाल पक्षले सरकारमा सहभागिताबारे निर्णय गर्न बाँकी रहेकाले गठबन्धन बैठक प्रभावित भएको कांग्रेसका एक नेताले बताउनुभयो ।
बुधबार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा तत्काल मन्त्रिमण्डल विस्तार गर्नेबारे छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री देउवाले माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा सहभागी हुने नेताहरुको नाम दिन आग्रह गरे पनि अहिलेसम्म नाम दिन सकेका छैनन् ।
देउवाले गत असार २९ गते प्रधानमन्त्रीको जिम्मेवारी सम्हाले पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । देउवा तत्काल आफ्नो नेतृत्वको मन्त्रिपरिषद विस्तार गरेर पूर्णता दिने प्रयासमा रहे पनि गठबन्धनभित्रका दलहरूको आन्तरिक किचलोका कारण ढिलाई हुँदै आएको छ । अहिलेसम्म माओवादीका दुईसहित काँग्रेसका बालकृष्ण खाँड,ज्ञानेन्द्र कार्की र उमेश श्रेष्ठले मन्त्रीको जिम्मेवारी पाएका छन् ।