काठमाडौँ । जसपा अध्यक्ष उपेन्द्र यादवलाई मन्त्री छनोट गर्न सकस परेको छ । यस विषयमा अहिले उहाँ तनावमा रहेको यादवनिकट स्रोतले बतायो । मन्त्री छान्ने विषयमा बुधबार यादवले ललितपुरमा पार्टीको कार्यकारिणी समितिको बैठक बोलाउनुभएको थियो । बैठकले मन्त्रीको टुंगो लगाउन पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष यादव तथा वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले बताउनुभयो ।
बैठकमा बोल्ने अधिकांश कार्यकारिणी सदस्यहरूले समावेशी आधारमा मन्त्री छान्न पार्टी नेतृत्वलाई दबाब दिएको सिंहले बताउनुभयो । समावेशी आधारमा मन्त्रीको सूची बनाए पनि आधारभूमि मधेसलाई बिर्सन हुन्न भन्ने सुझाव आएको अर्का कार्यकारिणी सदस्य रमेश यादवले बताउनुभयो । ‘भूगोल, समुदाय तथा सबै क्षेत्रको प्रतिनिधित्व हुनेगरी मन्त्री छान्नुपर्छ तर हाम्रो मुख्य आधार भनेको मधेस हो । यसमा विचार गर्नुपर्छ भन्ने सुभाव आएको छ,’ यादवले बताउनुभयो ।
स्रोतका अनुसार मन्त्री छान्न यादवलाई आफूनिकटबाट ठूलो दबाब आएको छ। मन्त्री हुनकै लागि ठाकुर पक्षका केही सांसदहरू कित्ता परिवर्तन गरी यादव पक्षमा पुगेका छन् । सुरुदेखि नै यादवलाई साथ दिएका नेताहरूलाई पनि मन्त्री बनाउने बाध्यता यादवलाई छ । मन्त्रीका लागि महेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रामसहाय यादव, रेणु यादव, इस्तियाक राई, प्रदीप यादव, मृगेन्द्रसिंह यादवले चाहना राखेका छन् । निर्वाचन आयोगमा हेडकाउन्ट हुँदा अन्तिम समयमा राजकिशोर यादवले उपेन्द्र यादवलाई साथ दिनुभएको थियो । त्यसैले उहाँलाई पनि मन्त्री बनाउन उपेन्द्र यादवलाई दबाब परेको छ ।