काठमाडौं । माधव नेपाल पक्षसहित बालुवाटारमा बसेको सत्ता गठबन्धनको संयुक्त बैठक सम्पन्न भएको छ । मन्त्रिपरिषदलाई पूर्णता दिन र सरकारको न्यूनतम साझा कार्यक्रमबारे छलफल गर्न बसेको सो बैठक बिना निष्कर्ष टुंगिएको छ । मन्त्रालय भागबन्डामा किचलो भएपछि सो बैठक बिनानिष्कर्ष टुंगिएको हो ।
बैठकमा कांग्रेसबाट प्रधानमन्त्री देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सहभागिता रहेको छ । जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र अशोक राई तथा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी हुनुहुन्थ्यो ।
कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि सत्ता गठबन्धनबीच ठूला मन्त्रालयमा भागबन्डा नमिलेका कारण हालसम्म मन्त्रिपरिषदले पूर्णता पाएको छैन । हाल सरकारमा कांग्रेस र माओवादीका दुई–दुई जना मन्त्री र एकजना राज्यमन्त्री छन् ।
अब जनता समाजवादी पार्टी (जसपा) लाई समेत समेटेर मन्त्रिपरिषद विस्तारको तयारी भइरहेको बताए पनि धेरै दलको सरकारमा सहभागिता हुने भएकाले मन्त्रालय तानातान हुने पक्का छ ।