काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकी सांसद गंगा चौधरीले साउन १० गते अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सांसद नारदमुनि रानालाई ज्यादति भएको भन्दै बराबर हैसियतका अर्का सांसद माधवकुमार नेपालले निस्केर जा भन्ने अधिकार कहाँबाट र कोबाट पाउनुभयो भनी प्रश्न गर्नुभएको छ । मंगलबारको प्रतिनिधिसभा रानामाथि भएको ज्यादतिको विरोध गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो ।
सांसद चौधरीले उक्त घटना समस्त थारु समुदायको अपमान भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘१० गते जुन दृश्य समितिभित्र देखियो, त्यो सदियौंदेखि शासकले थारुमाथि शोषण गरेको झझल्को दिलाउँछ।’
समिति बैठकमा सांसद नारदमुनि रानामाथि अधिनायकवादी चरित्र प्रदर्शन भएको र उहाँको वाक स्वतन्त्रतामाथि गम्भीर आघात पुगेका सांसद चौधरीले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘लोकतन्त्र भनेको के बोल्न नपाउने हो र ? फरक विचार राख्दैमा निस्केर जा भन्न मिल्छ ? एउटा बराबर हैसियतको सांसदलाई निस्केर जा भन्ने ? त्यहाँ सबैको एउटै हैसियत हैन र ?’ उहाँले आगामी दिनमा यस्तो घटना दोहो-याए थारु समुदायलाई स्वीकार्य नहुने चेतावनी दिनुभयो ।
अन्तर्राष्ट्रिय सम्बन्ध समिति बैठकमा नेता माधवकुमार नेपालले सांसद रानालाई ‘प्रतिगमनको मतियार बाहिर जानुस्’ भन्दै रानाको अपमान गर्नुभएको थियो ।