काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानविन समितिले आज पार्टी सभापति शेरबहादुर देउवालाई क्रियाशील सदस्यताको प्रतिवेदन पेश गरेको छ ।
सो समितिका अनुसार कांग्रेसमा क्रियाशील सदस्यको संख्या ८ लाख ५२ हजार ७११ पुगेको छ । कांग्रेस नेता रमेश लेखक संयोजक रहेको सात सदस्यीय समितिले करीब डेढ महिना लगाएर क्रियाशील सदस्यताको काम सम्पन्न गरेके हो ।
उता क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदनमा समिति सदस्य कल्याण गुरुङले फरक मत राखेका छन् । गुरुङको फरक मतसहित समितिले आफ्नो प्रतिवेदन पार्टीलाई बुझाउँदैछ ।
भोलि बिहान बोलाइएको कांग्रेस पदाधिकारीको बैठकमा समितिले प्रतिवेदन बुझाउँदैछ । क्रियाशील सदस्यतासम्बन्धी ओरिजिनल डकुमेन्ट नआइकन प्रतिवेदन तयार पारिएकाले फरक मत राखेको गुरुङले बताउनुभयो ।
रमेश लेखक नेतृत्वको क्रियाशील सदस्यता छानविन समितिले बारा, सप्तरी, धनुषा र सर्लाही जिल्लामा देखिएको विवाद समाधान नगरिकनै प्रतिवेदन तयार पारेको छ ।
क्रियाशील सदस्यता वितरणका विषयमा कांग्रेसको संस्थापन पक्ष र संस्थापनइतर पक्षबीच विवाद छ । यही विवादका कारण कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ ।
आजदेखि हुने भनिएको वडाका अधिवेशन स्थगित गरिए पनि अर्को तालिका तय भएको छैन ।

























