काठमाडौं । आदिवासी जनजाति महासंघले विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको दस्तावेज सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी, गैरसंवैधानिक र गैरराजनैतिक भएको टिप्पणी गरेको छ । महासंघका अध्यक्ष जगत बराम मगरले प्रेस वक्तव्य जारी गर्दै संघीयता खारेज र धर्मनिरपेक्षतासम्बन्धी जनमतसंग्रह गर्नुपर्ने मिश्रको प्रस्ताव कदापि संवैधानिक हुन नसक्ने बताउनुभएको हो ।
महासंघका अध्यक्ष मगरले जारी गर्नुभएको वक्तव्यमा भनिएको छ, ‘यस्ता खाले अभिव्यक्ति दिनु गैरसंवैधानिक, गैरराजनैतिक र सामाजिक सद्भाव भड्काउने राष्ट्रियता विरोधी भएको नेपाल आदिवासी जनजाति महासंघको ठहर छ । यस्ताखाले राष्ट्रियता र संविधान विरोधी अभिव्यक्तिप्रति हामी निन्दासहित घोर आपत्ति प्रकट गर्दछौं ।’ अध्यक्ष बरामले मिश्रको प्रस्तावप्रति ध्यानाकर्षण भएको भन्दै निन्दनीय भएको बताउनुभयो ।
विवेकशील साझा पार्टीका अध्यक्ष मिश्रले सोमबार छलफल तथा बहसका लागि भन्दै ‘ मार्ग परिवर्तन:विचारभन्दा माथि देश ‘ शीर्षकको दस्तावेज सार्वजनिक गर्नुभएको थियो । जसमा स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्ने विषय प्रस्तुत गरिएको छ ।

























