काठमाडौं । आफ्नै पार्टी नेकपा एमालेको बहुमतप्राप्त सरकारलाई अर्को पार्टीसँग मिलेर पदच्यूत गरेका गद्दार नेता माधवकुमार नेपालका पछिल्ला राजनीतिक हर्कतले सीमा पार गरेको छ । उनका पछिल्ला राजनीतिक गतिविधिलाई अपराध कर्मको संज्ञा राजनीतिक वृत्तमा दिइएको छ । उनले गरेका अक्षम्य राजनीतिक अपराधको जति नै निन्दा गरे पनि कमै हुन्छ । उनी यतिसम्म तल गिर्न सक्छन् भन्ने कुरा कसैले पनि सोचेको थिएन । नेता नेपालले देखाएका पछिल्ला हर्कतले उनी राजनीतिक अपराधीका रुपमा दिन प्रतिदिन दर्ज हुँदै गएको प्रमाणित हुन्छ ।
नेता माधवकुमार नेपालले हिजो प्रतिनिधिसभा राज्य व्यवस्था समितिको बैठकमा संसदीय व्यवस्था, लोकतन्त्र र वाक स्वतन्त्रतालाई नै खिल्ली उडाउने गतिविधि देखाए । समितिको बैठकमा आफ्नो कुरा राख्न लागेका एमालेका सांसद् नारदमुनी रानालाई आफ्ना कुरा राख्नबाट नेता नेपालले रोके । रानाको कुरा बीचमा काट्दै विधि, प्रक्रिया, लोकतन्त्र, वाक स्वतन्त्रताको रटान दिने नेपाललगायत आफूलाई सबैभन्दा लोकतान्त्रिक पार्टी भन्ने दलका सांसद् एक मुख भएर खनिए ।
ती नेता र सांसद्ले उहाँको अभिव्यक्तिको प्रतिवाद मात्र गरेनन् । उहाँलाई राजीनामा दिएर बैठकस्थलबाट बाहिरिन बारम्बार धम्की नै दिए । सांसद् रानाले बोल्न लाग्दा माधवकुमार नेपाल, कांग्रेस, माओवादी र नेपाल समूहका सांसद् मिलेर उहाँलाई सांसद् पदबाटै राजीनामा दिएर बैठक स्थलबाट बाहिरिन धम्की दिए । यो कस्तो वाक् स्वतन्त्रताको विकास गर्न खोजिँदैछ ।
माधव नेपाल लगायतले अपमान गर्दै सांसद् पदबाट राजीनामा दिएर बैठकबाट निस्कन भनेपछि सांसद् नारदमुनी रानाले सो बैठकको अडियो भिडियो माग गर्नुभएको छ । आइतबार बसेको अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठकमा माधवकुमार नेपालले सांसद रानालाई प्रतिगमनको मतियार भएको भन्दै चोर औँला ठड्याएर बैठकमा बस्ने अधिकार नभएको भन्दै सांसद् पदबाट राजीनामा दिएर बाहिर जान आदेश दिएको दृश्य संचारमाध्यमले प्रकाशन तथा प्रशारण गरे ।
नेपालले बोलेपछि कांग्रेस, माओवादी र नेपाल पक्षका सांसद् पनि रानाको बिरुद्ध एक मुख भएर खनिएका थिए । सबै सांसद्ले उहाँलाई बैठकमा बोल्ने अधिकार नभएको भन्दै राजीनामा दिएर जान भनेर अपमान गरेका थिए । बैठकमा माधव नेपाल लगायतका अन्य सांसद् समेत रानाको जस्तै समान हैसियतमा समितिको सदस्यको रुपमा सहभागी हुनुभएको थियो ।
घटनापछि उहाँले संसद् सचिवालयका महासचिवलाई सम्बोधन गरी बैठकको रेकर्डिङ आवश्यक परेकोले उपलब्ध गराइदिन अनुरोध गर्नुभएको छ । संसद् र त्यसको विषयगत समितिमा सांसद्हरुले आफ्ना कुरा स्तन्त्रतापूर्वक राख्न पाउने अधिकार सबैलाई छ । तर सांसद् रानाले बोल्न लाग्दा विधिको कुरा गर्ने, मान सम्मानको कुरा गर्ने, हिजो अध्यक्ष ओलीले सम्मान गरेनन, अपमान गरे भन्ने माधव नेपाल आज विपक्षीसँग मिलेर आफ्नैं सांसदलाई अपमानित व्यवहार गर्नु कदापि उपयुक्त विषय होइन । यस्तो अलोकतान्त्रिक शैलीले माधव नेपालको निर्लज्जताको पराकाष्ठालाई उदांग पारेको छ ।
नारदमुनिमाथि नेपालले गरेको व्यवहार सामन्ती सोच र सर्वसत्तावादी शैली हावी भएको देखिन्छ । आफ्नै अध्यक्षबिरुद्ध विपक्षीसँग साँठगाँठ गरी आफनो शक्ति देखाउन विभिन्न हतकन्डाहरु उनले प्रयोग गर्दै आएका छन् । आफुसँग केहीलाई मन्त्री बनाउन पनि नसक्ने एमाले छोडेर नयाँ गठन गर्न पनि नसक्ने र विस्तारै एकपछि अर्को कदममा असफल भएका नेपालको व्यवहार आफ्नै सांसदमाथि अभद्र टिप्पणीले प्रमाणित गर्छ कि उनी सत्ता र पदका भोका छन् । त्यसैले एमालेमा पद नपाएको छटपटीले गर्दा उनले पार्टीलाई नै ध्वस्त पार्ने रणनीति अख्तियार गरेका हुन् ।
उनलाई आफनै समुहका वैचारिक नेताहरुको समर्थन रहेको देखिदैन भने केही अतिवादी र उच्श्रृखल सांसदहरुले उचालेर आफ्नो निहित स्वार्थ सम्बोधन गराउन खोजेका छन् । नेपालले केही थान मन्त्री केही राजदूत र केही नियुक्तीको लोभमा देउवा र प्रचण्डसँग अपवित्र गठबन्धन गरेका छन् । ।
एकातिर आफ्नै नजिक भनिएका नेताहरुले साथ छोडनु, अर्कातिर मन्त्री बनाइदिन्छु भन्दै केही सांसदलाई आफनो क्याम्पमा ल्याउन सफल माधव नेपाल वाचा अनुसारको काम गर्न नसकेपछि अत्तालिएका छन् । त्यही छटपटाहटको आक्रोश उनले सांसद रानामाथि पोखेका छन् । यस्तै हर्कत नेपालले देखाउँदै जाने हो भने नेकपा एमालेले उनलाई पार्टीबाट सधैँका लागि बिदा दिएर अघि बढ्न नै उपयुक्त हुनेछ । एउटा कुहेको आलुले बोराका सम्पूर्ण आलुलाई नै बिगार्छ त्यसैले नेता नेपाललाई उनको हैसियत देखाउँदै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउनुपर्ने आवाज एमालेभित्रको ठूलै पंक्तिबाट उठ्न थालेको छ ।