काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकताको टुंगो आज लाग्ने भएको छ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकताका विषयमा आज निर्णय गर्न केन्द्रीय कार्यकारिणी समितिका सदस्यलाई निर्वाचन आयोग बोलाएको छ ।
आयोगले पार्टीको आधिकारिकता विवादको विषयमा टुंगो लगाउन कार्यकारिणी समितिका सदस्यहरूको टाउको गनेर निर्णय गर्न कार्यालय बोलाएको हो ।
आयोगले जसपा विवाद समाधानका लागि कार्यकारिणी सदस्यको ‘हेड काउन्ट’ गरी आज पार्टी आधिकारितासम्बन्धी निर्णय गर्ने भएको छ। पार्टी आधिकारिकताबारे विवाद भएपछि सुनुवाइ गरिरहेको आयोगले साउन ११ का लागि कार्यकारिणी सदस्यलाई हस्ताक्षर सनाखतका लागि आयोग बोलाएको थियो । आयोगले निर्णय गर्नुपूर्व दुवै पक्षका कार्यकारिणी समितिका सदस्यलाई नागरिकतासहित बोलाएको हो।
उपेन्द्र यादव पक्षले आइतबारदेखि नै आफू निकट कार्यकारिणी समिति सदस्य तथा सांसदलाई गोदावरी भिलेज रिसोर्टमा राखेर प्रशिक्षण दिएको छ । संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, अध्यक्ष यादव र वरिष्ठ नेता अशोक राईलगायतले प्रशिक्षण दिनुभएको थियो । आइतबारको बैठक राति अवेरसम्म चलेकाले उनीहरूलाई रिसोर्टमै राखिएको र सोमबार पुनः बैठक बसी सिधै निर्वाचन आयोग लैजाने तयारी गरिएको स्रोतले जनाएको छ ।
यादव पक्षले आफूहरूसँग कार्यकारिणी समितिका ३३ सदस्य र २१ जना सांसद रहेको दाबी गरेको छ । यता ठाकुर पक्षले पनि आइतबार नै आफ्नो पक्षको बैठक राखेको थियो। बैठकमा आयोगको सम्भावित निर्णय तथा त्यसपछिको रणनीतिबारे छलफल भएको स्रोतले जनाएको छ ।

























