काठमाडौं । नेकपा एमालेका सांसदहरुले दशबुँदे सहमति जुटाउने कार्यदलका नेताहरुलाई एकता प्रक्रिया निष्कर्षमा पुर्याउन आग्रह गरेका छन् । सिंहदरबारमा एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल दुवै पक्षका सांसदहरूले कार्यदलका सदस्यहरुसँग एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउन आग्रह गरेका हुन् ।
‘दशबुँदे सहमति गर्नुभएको छ । यसका लागि धन्यवाद । तर, पूर्ण धन्यवाद पाउन बाँकी छ’, सांसद गणेश पहाडीले भन्नुभयो । एकता प्रक्रिया निष्कर्षमा नपु-याइ पूरा धन्यवाद नपाइने उहाँले बताउनुभयो ।
दुवैतर्फका सांसदहरुले पार्टी एकताका लागि दबाब दिन आन्तरिक एकता सुदृढीकरण अभियान शुरु गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट कृष्णप्रसाद दाहाल र नेता माधवकुमार नेपाल समूहबाट यज्ञराज सुनुवारले यो अभियानको अगुवाइ गर्नुभएको छ ।
एकताका लागि दबाव दिन शुरु गरिएको यो अभियानले आइतबार सिंहदरबारमा कार्यदलका सदस्यहरुसँग छलफल गर्नुभएको छ । छलफलका क्रममा एकताबाहेक अर्को कुनै विकल्प नरहेको सांसदहरुले बताउनुभयो ।
जवाफमा अध्यक्ष ओलीतर्फबाट कार्यदलका संयोजक रहेका सुवास नेम्वाङले एकतामा शंका नगर्न आग्रह गर्नुभयो । ‘हामी बीच मतभिन्तता थियो । तर न्यारो डाउन भएको छ । हामीले यहाँसम्म ल्याएका छौं । फुट्ने नै हो भने एक ठाउँ बस्ने नै थिएनौं नि’, नेम्वाङले भन्नुभयो ।
नेता नेपालका तर्फबाट कार्यदल संयोजक रहेका भीम रावलले एकताको एउटा चरणको काम पूरा भए पनि मूल काम बाँकी रहेको बताउनुभयो । ‘सहमति जुटेको छ । अब नेताहरुलाई मिलाउन बाँकी छ’, रावलले भन्नुभयो । यो कार्य जटिल रहे पनि सफल हुने उहाँको भनाइ थियो ।
सांसदहरुसँग कार्यदल सदस्य घनश्याम भुसालले एकतालाई निष्कर्षमा पु-याउन सबैको योगदान जरुरी रहेको बताउनुभयो । सांसदहरुले नै एकता अभियान थाल्नुको अर्थ अझ बढी हुने भुसालले बताउनुभयो । पार्टी सचिव गोकर्ण विष्टले पनि एकता बाहेक अरु विकल्प नरहेको धारणा राख्नुभयो । ‘एकता, एकता र फेरि पनि एकता । यसबाहेक हामीसँग अर्को बाटो छैन’, विष्टले भन्नुभयो ।
आइतबारको छलफलमा नेम्वाङ र रावलले सांसदहरुबीच आफ्ना धारणा राख्नुभयो । ‘कार्यदलका सदस्यहरुले ठूलै मेहनत गरेर एकताको आधार तयार पार्नुभएको छ । यसलाई निष्कर्षमा लैजान सांसदहरु तयार छौं भन्नेमा लगभग सवै सांसदहरुको कुरा रह्यो’, सांसद सुनुवारले भन्नुभयो ।