काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मिलेर पार्टीमाथि हमला गर्ने नेता माधव नेपाल राजनीतिक अपराधी भएको बताउनुभएको छ । अखिल नेपाल महिला संघको जारी पहिलो सचिवालय बैठकलाई भर्चुअल सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताउनुभएको हो ।
निर्वाचित अध्यक्षलाई महाधिवेशन नगरी बीचबाट नै अरु दलसित मिलेर हटाउने तानाबाना बनाउने कार्य अपराध भएको महासचिव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो ‘केपी ओलीलाई अगाडि राखेर अबको प्रधानमन्त्री केपी ओली भनेर जनताबाट भोट माग्ने, अनि जोरीपारीलाइ हँसाएर बिरोधीसँग मिलेर कम्युनिष्ट पार्टी ध्वस्त पार्ने अभियानमा माधव नेपाल लागेका छन् ।’ प्रचण्डसँग मिलेर माधव नेपालले जुन ढंगले पार्टीमाथि हमला गर्नुभयो त्यो कदापि क्षम्य नहुने उहाँले बताउनुभयो । १५ बर्षसम्म पार्टीको फष्ट मेन भएर काम गर्नुभएका माधव नेपाल त्यसभन्दा अगाडि पनि पार्टीमा उहाँकै बोलवाल चलेको तर केपी ओलीबाट त्यसबेला कहिल्यै अवरोध नभएको उहाँको तर्क थियो । उहाँले भन्नुभयो,–‘अहिले एउटा टर्ममा केपी ओली पार्टीको अध्यक्षमा निर्वाचित हुनुभएको छ तर अध्यक्षलाई सहन नसक्ने यो कस्तो खालको चरित्र यो ।’ यतिबेला संगठनात्मक अराजकताको अगुवा गर्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कुण्ठा इष्या बोकेर हिँड्ने माधव नेपालको गठबन्धनका कारण यो अवस्था आएको उहाँले बताउनुभयो । उहाँले एमालेभित्र घटेको घटनालाई पहिलो घटनाका रुपमा नलिन आग्रह गर्नुभयो । अधिकतम् लचकता अपनाएर पार्टी एकता होस् भनेर कोशिस गरेको बताउँदै उहाँले अब सधैभरि यस्तो नरहने चेतावनी दिनुभयो ।