काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पार्टीको अनुशासनभन्दा बाहिर गएर प्रतिक्रियावादीको पुच्छर बनेको बताउनुभएको छ । अखिल नेपाल महिला संघको पहिलो सचिवालय बैठकमा भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो धारणा राख्नुभएको हो ।
अध्यक्ष ओलीले पार्टी एकताका लागि आफूले सकेको पहल गरे पनि माधव नेपालले विपक्षीसँग साँठगाँठ गरेर सरकार ढालेको बताउनुभयो । उहाँले केही दिनअघि माधव नेपालले महाराजधिराजबाट ‘माफी उवाच’ भएको भनी गरेको टिप्पणीको जवाफ दिदैं भन्नुभयो, ‘अस्ति मैले भने जे गल्ती भयो भयो, अब पार्टीमा फर्किनुस् । गल्ती महसुस गरेर पार्टीमा फर्किने सबैलाई गल्ती अपराध कर्म माफी दिन्छु तर एकजनाले भने महाराज खुसी भए अरे, माफी दिन्छन् रे भनी खिल्ली उडाए । उनी अपराध गर्न सक्ने, पार्टीसँग गल्ती भयो भन्न नसक्ने, पार्टीले क्षमा दियो भन्दा माफी भनेर उनी पार्टीका अनुशासन, कारबाही, माफी, क्षमा जस्ता कुराबाट माथिका हुन् ?
अध्यक्ष ओलीले भन्नुभयो- यति बेसरम भएर सरकार ढालेर विपक्षी नेतासँग गजक्क परेर बस्न लाज पनि नहुने ।
अहिलेको गठबन्धन सरकार विचार र सिद्धान्तमा नमिले पनि खानका लागि कृत्रिम ढंगले प्रतिकृयावादी डिजाइनमा मिलेको उहाँले बताउनुभयो । उहाँले हाम्रै पार्टी फुटाएर, हाम्रै साथीहरूको अगुवाइमा प्रतिगमनको आयोजना भएको दाबी गर्नुभयो । आफूलाई एमाले भन्ने, पार्टी फुटाउने अन्तरघात गर्ने र पार्टीलाई ध्वस्त बनाउन खोज्ने र पार्टीलाई नै बहुमत पुग्न नदिने ब्यक्तिहरुको संलग्नतामा गम्भीर षडयन्त्र भएको अध्यक्ष ओलीले टिप्पणी गर्नुभयो ।
एमालेभित्रकै केही व्यक्तिगत स्वार्थ बोकेकाहरूकै कारण अहिलेको अवस्था आएको उहाँको भनाइ थियो । यसले नेपाली राजनीतिमा पछिसम्म असर पर्ने भन्दै उहाँले संविधानको अपव्याख्या भएर परमादेशमार्फत प्रधानमन्त्री नियुक्त हुनुमा अन्तर्राष्ट्रिय शक्तिको पनि हात रहेको बताउनुभयो । ‘पार्टीभित्रकै केही व्यक्तिको व्यक्तिगत स्वार्थ, ईर्श्यालुपन र पदलोलुपताका कारण पार्टीमा समस्या उत्पन्न भएको र उनीहरूले खेल्ने मौका पाएको उहाँले भन्नुभयो ।
माधव नेपाललाई हरियो सर्पको संज्ञा दिँदै ओलीले भन्नुभयो- घाँसको मुठो पनि नछोड्ने र त्यहीँभित्र लुकेर अनेक षड्यन्त्र गर्ने हरियो सर्पलाई सबैले चिनौं । अहिलेको अवस्थावाट नआत्तिन र विचलित नहुन कार्यकर्ता पंक्तिमा आग्रह गर्दै उहाँले केहीबेर सूर्य छेकिएको छ, हतोत्साही नहुनुस् । एमालेको सूर्य कमजोर हुँदैन यसले आफ्नो सही विचार र मार्ग परित्याग गर्दैन ।