काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष प्रचण्डका पछिल्ला राजनीतिक गतिविधि र अभिव्यक्ति नेकपा एमालेलाई विभाजन गर्नेतर्फ केन्द्रित भएको बताउनुभएको छ । उहाँले प्रचण्डका पछिल्ला गतिविधि र अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसो नगर्न चेतावनी दिनुभएको छ ।
नेता रावलले विज्ञप्ति नै जारी गरी माओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्ति आपत्तिजनक रहेको बताउनुभएको छ । उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “मैले स्वस्थ राजनीति र पार्टी एकताको पक्षपोषण गर्दा त्यसलाई ’नेताहरूबीच फाटो ल्याउने’ काम ठान्नु विग्रहकारी चिन्तन हो । उहाँले पार्टी फुटाएर देश, जनता र वामपन्थी आन्दोलन कसैको भलो नहुने स्पष्ट पार्नुभयो ।
उपाध्यक्ष रावलले “प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म स्वच्छ राजनीति र पार्टी एकताको पक्षमा उभिएको हुँ, पुष्पकमल दाहाल’प्रचण्ड’जीले भन्नुभएझैं ’ढलेको’ होइन,” भन्नुभयो ।
उहाँले प्रतिनिधिसभाको सदस्यबाट राजीनामा दिएर म ’ढलेको’ होइन नेकपा (एमाले) लाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको बताउनुभएको छ ।
“एमसीसी, नागरिकता, लिम्पियाधुरा–लिपुलेक–कालापानी र अन्य राष्ट्रिय हितका विषयमा प्रधानमन्त्री देउवासँग कुरा गर्ने अवसर नदिई राजनीतिक भविष्य नै दाउमा राखेर निर्देशन मान भन्नु कुन विधि र गठबन्धन संस्कृति हो ?” उपाध्यक्ष रावलले बिज्ञप्तिमार्फत् कमरेड प्रचण्डप्रति लक्षित गर्दै प्रश्न गर्नुभयो ।

























