काठमाडौं । जननिर्वाचित तथा जनादेशप्राप्त सरकारलाई अनेक प्रकारको हतकण्ठा अपनाएर सत्ताच्युत गरेको अपराध अहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उर्फ प्रचण्डले भोगिरहनुभएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारमा सो पार्टीभित्रका सबै सांसदले आफूहरुलाई मन्त्री बनाउनुपर्ने दबाब दिन थालेपछि उहाँमा मानसिक विचलन आएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र मन्त्रीको आकांक्षी धेरै हुँदा आफू दबाबमा परेको बताउनुभएको छ ।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा कम्युनिस्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले आफू कसलाई मन्त्री बनाउने भन्ने विषयमा आफ्नो दिमागमा आतंक चलिरहेको बताउनुभयो ।
‘म त मन्त्री बन्न दबाब दिने मान्छेको हुलभित्रबाट आएको छु’ उहाँले आफ्नो मन्तव्यको शुरुतिरै भन्नुभयो, ‘आतंक छ, मेरो दिमागमा कल्लाई मन्त्री बनाउने कसलाई नबनाउने ?’
अध्यक्ष प्रचण्डले प्रतिनिधिसभामा रहेका आफ्नो पार्टीका ४९ सांसदमा सबैजसोले मन्त्री बन्ने आकांक्षा राखेको तर गठबन्धन सरकारमा बढीमा ७ वटा मात्रै मन्त्री पाउने बताउनुभयो । मन्त्री नबनाए नेतृत्वलाई गाली गर्ने प्रवृत्ति देखिएको भन्दै उहाँले भन्नुभयो, ‘यहाँ मन्त्री पाएन भने नेतृत्वलाई सरापेर हिँड्ने, मन्त्री पायो भने मात्र…गर्ने प्रवृत्ति जबर्जस्त छ, अहिलेको परिपाटीभित्र ।’
आफूले नियुक्ति पाएमा नेतृत्व ठीक छ भन्ने तर नपाएमा नेतृत्व बदमास छ भन्ने प्रवृत्ति देखिएको पनि अध्यक्ष प्रचण्डले बताउनुभयो । मन्त्री छान्ने विषयमा आफू मानसिक तनावमा परेको उहाँले बताउनुभयो ।
‘कुरा गर्दा आदर्शका ठूल्ठूला कुरा गर्ने तर चित्त चाहिँ के छ भने मन्त्री पाइन्छ कि पाइँदैन ? पाइन्छ भने ठीक छ, पाइँदैन भने ठीक छैन, यो आजको हाम्रो कल्चर हो’ प्रचण्डको भनाइ थियो ।
प्रचण्डको यस प्रकारको मानसिक तनावबाट सो पार्टीका केही नेताहरुले खुच्चिङ गर्न समेत पछि परेका छैनन् । प्रचण्डले पछिल्लो समय गरेको राजनीतिक गद्दारीले देश बर्बाद भएको सो पार्टीकै केही नेताहरुले भन्न थालेका छन् ।

























