काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको वडास्तरको अधिवेशन स्थगित भएको छ । शनिबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले साउन १२ गतेका लागि तोकिएको अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो ।
‘साउन १२ को वडा अधिवेशन स्थगन गर्ने सल्लाह पदाधिकारी बैठकमा भएको छ,’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भन्नुभयो, ‘अब कहिले गर्ने भन्नेमा पछि निर्णय हुन्छ ।’
प्रवक्ता शर्माले महाधिवेशन कार्यतालिका प्रभावित भए पनि भदौ १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनका बारेमा कुनै निर्णय नभएको बताउनुभयो । उहाँले केन्द्रीय महाधिवेशनको मिति भने यथावत रहेको बताउनुभयो ।
वडा अधिवेशन स्थगन भएसँगै कांग्रेसको महाधिवेशन कार्यतालिका पनि प्रभावित भएको छ । कांग्रेसले १२ साउनमा वडा अधिवेशन, १६ साउनमा स्थानीय तहको अधिवेशन, २० साउनमा प्रदेशसभा निर्वाचन क्षेत्रको अधिवेशन गर्न गरी कार्यतालिका सार्वजनिक गरेको थियो ।
त्यस्तै प्रतिनिधिसभा निर्वाचन क्षेत्र र एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्लाको अधिवेशन २३ साउन, एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन २६ साउन, प्रदेश अधिवेशन १ र २ भदौ र केन्द्रीय महाधिवेशन १६–१९ भदौमा हुने कार्यतालिका रहेको थियो ।

























