काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको एकता बचाउने प्रयासमा दोस्रो तहका नेताहरु लागिरहेका बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एक हुन नदिन बेलाबेलामा बीचमा आएर शिखण्डी बन्न खोज्दै हुनुहुन्छ ।
यसैको उदाहरणका रुपमा प्रचण्ड शनिबार बिहान कोटेश्वरस्थित माधव नेपाल निवास पुग्नुभएको छ । पार्टीलाई एकताबद्ध गरेर अगाडि बढ्ला जस्तो भयो कि त प्रचण्ड कमरेड नेता नेपाललाई भेटेर कान फुक्न थालिहाल्नुहुन्छ । प्रचण्ड कमरेडलाई एमाले एक हुने हो कि भन्ने कत्रो चिन्ता, उहाँ हतार–हतार नेता नेपालको कान टोक्न पुगिहाल्नुहुन्छ । बाँदरले आफ्नो घर पनि बनाउँदैन र अरुको घर पनि भत्काइदिन्छ भनेजस्तै भएको प्रचण्ड कमरेडको प्रवृत्ति ।
पेरिसडाँडामा आयोजित नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको आठौं स्मृति दिवस कार्यक्रममा सहभागी हुनुअघि प्रचण्डले कोटेश्वर पुगेर नेता नेपाललाई भेट गर्नुभयो । उहाँले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर संवाद गर्नुभयो ।
एमालेमा देखिएको विवाद समाधानका लागि अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल लचिलो बनेका बेला प्रचण्डले भेटघाटको शैलीलाई एमालेका नेता तथा कार्यकर्ताले पटक्कै रुचाएका छैनन् । प्रचण्ड कमरेड कहिले देउवा त कहिले नेपाललाई भेटेर यताका कुरा उता र उताका कुरा यता गर्दै कुरौटे पारामा दौडेको देखेर माओवादीकै नेता कार्यकर्ताहरु वाक्क दिक्क भइसके । उहाँको यस्तै प्रवृत्तिले माओवादी पार्टी चिराचिरा परेको छ ।
एमालेमा अध्यक्ष केपी शर्मा ओलीसँगको संवादपछि उपाध्यक्ष भीम रावलसहित अहिले वरिष्ठ नेता नेपाललाई मनाउन जुटिरहेका बेला प्रचण्डको शिखण्डी प्रवृत्तिले एकता भाँजो हाल्ने हो कि भन्ने आशंका सर्वत्र चलेको छ ।
एमाले अध्यक्ष ओलीले पनि नेता नेपालसँग संवाद अघि बढाउन खोजिरहेका बेला बीचमा प्रचण्ड देखा पर्नाले गर्दा दुवै शीर्ष नेताहरु भड्किने अवस्था सिर्जना भयो भने यसको प्रमुख दोषभागी प्रचण्ड नै हुन् भन्दा हुन्छ । एमालेमा जेठ २ मा गठन भएर असार २७ मा १० बुँदे सहमति जुटाएपछि हालै खारेजीमा परेको कार्यदलकै सदस्यहरु एमाले मिलाउन प्रयास गरिरहेका छन् । तर प्रचण्डकै भिलेन प्रवृत्तिले रोकावट आउन सक्ने सम्भावनालाई पनि नकार्न सकिँदैन । एमाले नेताहरु पार्टी मिलाउन जुटिरहेको अवस्थामा प्रचण्डले कोटेश्वर पुगेर नेपालसँग संवाद गर्नाले बनिरहेको वातावरण बिग्रने देखिन्छ ।
यद्यपि उक्त संवादबारे विस्तृत कुरा केही आएको छैन । एमाले मिलाउने प्रयत्न तीव्र भइरहेका बेला आज एकै दिन प्रचण्डले नेता नेपाल र प्रधानमन्त्री देउवासँग संवाद गर्नाले वातावरण खलबलिने आशंका गर्नु पनि ठीकै हो । यद्यपि एमालेका दोस्रो तहका नेताहरुले पार्टी एकतालाई अन्तिम चरणमा पुर्याएको बताएका छन् ।
अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच तीव्र घोचपेच जारी रहे पनि नेताहरुले एकतालाई करिब टुंगोमा पुर्याएको बताएको हुनाले एमाले मिल्नबाट प्रचण्डले जति नै तिकडम गरे पनि रोकिँदैन भन्ने विश्वास एमालेका आम नेता तथा कार्यकर्ताले गरेका छन् ।

























