काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ ले प्रधानमन्त्रीको लोभ त्यागेर जनताका लागि काम गर्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधव कुमार नेपाललाई सुझाव दिनुभएको छ । ४३ औं पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा बोल्दै अध्यक्ष वैद्यले यस्तो सुझाव दिनुभएको हो ।
नेपालमा क्रान्तिकारी धारका पार्टीहरु एक हुनुपर्ने बेला आएको बताउँदै उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर जनताको सेवामा लाग्न आग्रह गर्नुभयो । उहाँले संसद् र सरकारमा रहेका कम्युनिष्टहरु मिलेर जानुपर्नेमा जोड दिनुभयो ।
सरकार, संसद र सडकमा भएका कम्युनिष्टहरु एक ठाउँमा उभिनुपर्ने भन्दै उहाँले सडकमा भएका कम्युनिष्टहरुलाई दमन गरेर जान उपयुक्त नहुने धारणा राख्नुभयो ।

























