पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रिपरिषद् विस्तार गरेसँगै भाँडभैलो सुरु भएको छ । २९ जेठमा मुख्यमन्त्री बनेका पोखरेलले डेढ महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिए पनि पार्टीभित्र रडाँको मच्चिएको छ ।
मुख्यमन्त्री पोखरेलले कांग्रेसबाट मणिचन्द्र शर्मा, मेषलाल श्रेष्ठ र विन्दुकुमार थापा तथा माओवादी केन्द्रबाट रामजी बराल, दीपक घर्तीमगर र चन्द्रबहादुर बुढालाई मन्त्री नियुक्त गर्नुभएको छ । तर मन्त्री चयनलाई लिएर कांग्रेसमा विवाद उत्पन्न भएको छ ।
विवाद सिर्जना हुनुको मुख्य कारण तनहुँका डोबाटे विश्वकर्माको नाम अन्तिम समयमा आएर काटिनु र विन्दुकुमारको नाम थपिनु नै हो ।
बिहीबार कांग्रेसको बैठकमा समेत विश्वकर्माको नाम अन्तिम ५ मा राखेर छलफल चलेको थियो । पार्टीभित्र रामचन्द्र निकट मानिने विश्वकर्मालाई मुख्यमन्त्री कृष्णचन्द्र नेपाली र प्रवक्ता कुमार खड्काले मन्त्री बनाउन खोज्नुभएको थियो । शुक्रबार मुख्यमन्त्री सचिवालयले विश्वकर्मालाई मन्त्रीको सपथ लिने जानकारी समेत दियो । उहाँले बधाई सबैतिरबाट पनि पाउनुभयो । तर कांग्रेसमा विवाद भएपछि उहाँले मन्त्रीको सपथ लिन पाउनुभएन । उहाँको साटो विन्दुकुमार थापा मन्त्री बन्नुभएको छ । कांग्रेसको यस्तो चरित्र देखाएपछि विश्वकर्माले निष्ठाको राजनीति गर्नेमाथि घोर अपराध गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘नाम काटियो भन्ने सुनें । यो त पार्टीभित्र अपराध भयो ।’ उहाँले अगाडि थप्नुभयो, ‘४२ वर्षदेखि निष्ठाको राजनीति गरिरहेको छु । अहिले अपमान गरियो । योभन्दा अरु मैले के भन्न सक्छु र ?’
सांसद विश्वकर्माले भन्नुभयो, ‘पार्टीभित्र समावेशिताको एउटा सिद्धान्त छ । तर त्यही सिद्धान्त पनि अपमान गरियो ।’
विश्वकर्मालाई पाखा लगाउँदै मन्त्री भएका थापाले आन्तरिक मामिला तथा कानून मन्त्रालय पाउनुभएको छ । देउवा पक्षधर उहाँ व्यापारिक पृष्ठभूमिका व्यक्ति हुनुहुन्छ । गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन भएपछि सबैभन्दा पहिले मन्त्री हुने आकांक्षीमा कास्कीका विन्दुकुमार थापाको चर्चा चलेको थियो ।
नियुक्त भएकै दिन जेठ २९ गते मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले चार जना विनाविभागीय मन्त्री नियुक्त गर्नुभयो । उक्त दिनसमेत थापाको मन्त्रीमा नियुक्त हुने चर्चा चलेको थियो । तर कांग्रेस कोटाबाट बिनाविभागीयमा नियुक्त हुँदै कुमार खड्का नियुक्त हुनुभयो र सरकारको प्रवक्ता समेत हुनुभयो । देउवा निकटका थापा मन्त्रीका लागि लबिङ गर्दै पटक–पटक काठमाडौं धाउनुभएको थियो । यसबाट गण्डकी प्रदेशमा केन्द्रीय प्रभाव रहेको स्पष्ट देखिन्छ ।