काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले केन्द्रीय कमिटीले पार्टी एकताका लागि भइरहेको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले सबैलाई समेट्न अधिकतम प्रयत्न गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
प्रवक्ता ज्ञवालीका अनुसार विघटित कार्यदलका सदस्यहरुबीच अहिले पनि निरन्तर सम्वाद भइरहेको छ । बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता सुदृढ गर्ने गरी आउन चाहेनहरुलाई विगतका गल्ती बिर्सिएर स्वागत गर्न सकिने बताउनुभयो ।
उता, नेकपा एमालेका दुवै समूहका सांसदहरूले पार्टी एकता अभियान शुरु गर्नुभएको छ । सिंहदरबारमा बसेको अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल समूहका सांसदहरुले एकताका लागि दबाब अभियान शुरु गर्नुभएको हो ।
पार्टी विभाजन रोक्न संयुक्त अभियान चलाउन दुवै समूहका सांसदहरू सहमत हुनुभएको छ । यो अभियानमा अध्यक्ष ओलीतर्फबाट कृष्णप्रसाद दाहाल, डा. सूर्य पाठक, लालप्रसाद साँवा (एलपी), राजेन्द्र राई, शान्ति पाख्रिन, यज्ञ बोगटीलगायत हुनुहुन्छ भने नेता नेपालका तर्फबाट यज्ञराज सुनुवार, झपट रावल, जयकुमार राई, डा. दीपकप्रकाश भट्ट, नारायण खतिवडा, पवित्रा खरेल, राजबहादुर बुढालगायत रहनुभएको छ । ‘एकता जोगाउन शुरु भएको यो अभियानलाई सशक्त बनाउँछौं, एकता दबाब अभियानमा साथ दिन संयुक्त अपील गर्दैछौं,’ सांसद यज्ञराज सुनुवारले भन्नुभयो । एकता आह्वानको अपील तयार पार्न बाँकी सांसदहरुको हस्ताक्षर संकलनलगायतबारे मस्यौदा तयार पार्ने जिम्मा दीपक भट्ट र सूर्य पाठकलाई दिइएको छ । यो अभियानलाई विस्तार गर्दै एमाले एकता जोगाउन गठित कार्यदलका सदस्यहरुसँग अन्तरक्रिया गरिने उहाँले जानकारी गराउनुभयो ।