रसुवा । नेपालको उत्तरीनाका रसुवागढीबाट चिनियाँ सवारीसाधनको आयात बढेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा आयात सामग्रीको विवरण दिँदै रसुवा भन्सार कार्यालय टिमुरेले चीनमा निर्मित सानाठूला ५६८ सवारीसाधन नेपाल भित्रिएको जनाएको हो ।
कार्यालयका सूचना अधिकारी नरेन्द्रप्रसाद चौधरीका अनुसार यसरी आयात भएका सवारीसाधनमा किसानले प्रयोग गर्ने हाते ट्र्याक्टर २४९, पिकअप भ्यान ३०, एम्बुलेन्स पाँच, जिप, कार र भ्यान ५०, सामान बोक्ने ठूलाठूला टिपर २३० र ३० सिट क्षमताका विद्युतीय बस रहेका छन् ।
व्यापारी तथा व्यावसायिक कम्पनीले झिकाएका ती सवारीसाधनको भन्सार प्रक्रिया पूरा भई प्रायः आ-आफ्ना गन्तव्यतर्फ लागिसकेका र भन्सार हाताबाट लैजान बाँकी सवारीसाधन काठमाडौँका लागि प्रस्थान गराउने तयारी गरिएको छ ।
यस्तै आयात भएका सामग्रीमा तयारी पोशाक, जुत्ता तथा चप्पल, जिपकार भ्यान, होजियारी कपडा, ब्याग, मोबाइलका ब्याट्री, स्वास्थ्यका सामग्री, स्याउ, ओखर एवं लसुनलगायत विविध वस्तु रहेको बताइएको छ । नेपालका विभिन्न नदी खोलामा निर्माणाधीन जलविद्युत् आयोजनालाई आवश्यक पर्ने चिनियाँ उपकरणसमेत आयात भइरहेको छ । निर्यात भने शून्य रहेको छ ।
गत आवमा रसुवागढी नाकाबाट कूल रु १८ अर्ब ३४ करोड ५४ लाख ६१ ह्जार बराबरको चिनियाँ सामग्री नेपाल भित्रिएको भन्सार तथ्याङ्कले देखाएको छ ।
प्राप्त माल सामग्रीको मापदण्डअनुरूप मूल्याङ्कनबाट भन्सार, अन्तःशुल्कका साथै मूल्य अभिवृद्धि करसमेतका तीन शीर्षकबाट गत आव रु तीन अर्ब ५४ करोड २७ लाख ९३ हजार असुली भई सो रकम राज्य कोषमा दाखिला भएको प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताउनुभयो ।
विगतका वर्षमा रु आठ अर्ब २७ करोड ४५ लाख असुली भएकोमा गत वर्ष सामानको आयात परिमाण अत्यन्तै न्यून हुँदा भन्सार शुल्कबाट उठ्ने राजस्वमा गिरावट आएको भन्सार कार्यालयले जनाएको छ । यसरी राजस्व गिरावटको मुख्य बाधक भने दोस्रो लहरको कोभिड सङ्क्रमण रहेको छ ।