काठमाडौं । पार्टीको निर्णय विपरीत फ्लोर क्रस गरेर कांग्रेसका शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने एमाले नेता माधवकुमार नेपालले अपमान सहेर पार्टीमा नबस्ने धम्की दिनुभएको छ । नेकपा संस्थापक पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बिहीबार बिहान आयोजना गरेको कार्यक्रममा उहाँले अब आफू एमालेमा नबस्ने संकेत गर्नुभएको हो ।
अपमान सहेर पार्टीमा बस्न नसकिने बताउँदै नेता नेपालले आफूलाई जनैखटिराले दुःख दिएजस्तै पार्टीभित्र पनि विभिन्न घाउखटिराले दुःख दिइरहेको बताउनुभयो । उहाँले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताउनुभयो ।
नेता नेपालले कम्युनिस्ट आन्दोलन सही दिशामा लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहेको बताउनुभयो । त्यो क्रान्तिकारी पार्टीको स्वरुप लिएर एमाले अगाडि बढोस् भन्ने चाहेको भन्दै उहाँले भन्नुभयो, ‘त्यो स्वरुपमा अगाडि बढ्छ कि बढ्दैन, पर्खेर हेरिरहेका छौं ।’
पार्टीमा भएका गतल कुरालाई स्वीकार गरेर शिर निहुर्याएर बस्नु दास भएको उहाँले भनाइ थियो । सबैको मर्यादा राख्नुपर्ने भन्दै नेता नेपालले भन्नुभयो, ‘अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’