काठमाडौं । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहास लामो रहेको छ । समाजका शोषित, पीडित, मजदुर, लैंगिक विभेदमा परेका जनजाति तथा सर्वहारा वर्गको सच्चा पहरेदार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३ औँ स्मृति दिवस परेको छ । यस दिवसलाई मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
नेकपा एमालेले पुष्पलालको स्मृति दिवसको अवसरमा तुलसीलाल स्मृति प्रतिष्ठानमा आज एक कार्यक्रमको आयोजना गर्दैछ । दिउँसो १:०० बजे आयोजना हुने उक्त कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली समेत सहभागी भएर सम्बोधन गर्ने कार्यक्रम एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताउनुभयो ।
विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मनुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारतमा उपचारका क्रममा निधन भएको थियो ।
पुष्पलालले विसं २००६ वैशाख १० गते नेपालमा पहिलो पटक कम्युनिष्ट पार्टीको स्थापना गर्नुभएको थियो । उहाँले चारजना नेताहरु निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर भारतको कोलकातामा नेकपा स्थापना गर्नुभएको थियो ।
नेकपा खोल्नुअगाडि विसं १९९८ मा उहाँले प्रेमबहादुर कंसाकार, शम्भुराम श्रेष्ठ, सूर्यबहादुर भारद्वाज र रामराजासँग मिलेर नेपाली प्रजातान्त्रिक सङ्घ गठन गर्नुभयो ।
कम्युनिष्ट पार्टीको स्थापनापछि पुष्पलालले साम्यवादी विचारधाराको प्रचार–प्रसार गर्न ‘कम्युनिष्ट पार्टीको घोषणापत्र’ नेपाली भाषामा अनुवाद गर्नुभयो । त्यसपछि उहाँले कम्युनिष्ट पार्टीलाई एकिकृत गर्दै संगठित गर्नुभएको थियो ।
नेपाली काङ्ग्रेसलगायत प्रजातान्त्रिक शक्तिसँग मिलेर संयुक्त जनआन्दोलन गरी पञ्चायती व्यवस्था ढाल्नुपर्छ भन्नेमा संस्थापक नेता पुष्पलालले सधैँ अग्रमोर्चामा रहेर काम गर्नुभयो ।
नेपालमा जहानियाँ राणा शासन कायम रहेका बेला भूमिगत रुपमा स्थापना भएको नेपाल कम्युनिस्ट पार्टीले सामन्तवाद, दलाल–नोकरशाही पुँजीवाद तथा साम्राज्यवादका शोषण उत्पीडनबाट नेपाली जनता र राष्ट्रलाई मुक्त गर्ने उद्देश्य लिएको थियो ।