काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णयविरुद्ध जाने नेता माधवकुमार नेपालजस्ता माउसुलीरुपी पुच्छरलाई फाल्न परे पनि तयार हुनुपर्ने बेला आएको बताउनुभएको छ । बुधबार नेकपा (एमाले) को जारी केन्द्र्रीय कमिटीको बैठकमा उहाँले यस्तो अभिव्यक्ति राख्नुभएको हो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘माउसुलीले कहिलेकाहीँ पुच्छर फालिदिन्छ त्यो कारण ऊ आत्तिँदैन किनकि पुच्छर तुरुन्तै पलाउँछ । त्यसैले अहिले पुच्छर फाल्नुपरे पनि तयार हुनुपर्ने बेला आएको छ । उहाँले माधव नेपालले गरेको गल्ती विश्व रेकर्डमा रहने बताउनुभयो ।
प्रतिगमनको हल्ला गर्दै गरिएको प्रतिगमन अदालतको फैसला भएको अध्यक्ष ओलीको भनाइ थियो । समयमै पलाएको ऐँजेरु उखेल्न नसक्नु ठुलो कमजोरी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो ‘माधब नेपालले गरेको गद्धारी गिनिज बुकमै लेखिने छ, अनि अदालतको फैसला पनि संसारमै नयाँ रेकर्ड रहनेछ।’
अध्यक्ष ओलीले पार्टी एकतामा आउन आफ्ना सबै नेताहरुलाई आग्रह गर्नुभएको छ । नेकपा (एमाले) को जारी केन्द्र्रीय कमिटीको बैठकमा बोल्दै उहाँले भन्नुभयो,–‘म यो अन्तिम क्षणमा साथीहरुलाई भन्छु पार्टी एकतामा आउनुहोस्, नत्र पुस्पलाल स्मृति दिवसको कार्यक्रम सकिएपछि ३ बजे फेरि बैठक बस्छ र उचित निर्णय गर्छ्।’ उहाँले आफुसँग कुनै आग्रह नभएको बताउँदै अझै एकताको मोही मथिरहेको बताउनुभयो । ‘सकभर उता लागेका सबैलाई आफ्नो राजनैतिक जीवन बचाउन, आन्दोलन बचाउन अनुरोध गर्दछु ।’
ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले एमालेको बिभाजन गर्न अर्को पक्षलाई मिल्ने गरी अध्यादेश ल्याउँछु, राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउँछु जस्ता असम्भव सपना नदेख्न पनि देउवा र प्रचण्डलाई चेतावनी दिनुभयो ।