काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले पार्टी दलालहरुको हातमा गएको भन्दै बुधबार सांसद पदबाट राजीनामा दिनुभएको छ । उहाँले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा दिएको पत्र बुझाउनुभएको हो ।
नेता सिंहले भन्नुभयो ‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएका कारण मैले राजीनामा दिएको हुँ ।’ उहाँले अगाडि थप्नुभयो ‘पार्टी क्रियाशिल सदस्यता, समायोजनलगायतका पार्टीका केही नेताहरुले चलखेल गरेकोमा पनि मेरो गम्भीर आपत्ति छ ।’
क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्टी कार्यालयमा सर्लाहीका नेता तथा कार्यकर्ता धर्नामा छन् । उनीहरुले पार्टी विधानविपरीत क्रियाशील सदस्यता दिएको भन्दै त्यसलाई रोक्नुपर्ने माग गरेका छन् । धर्नामा बसेकाहरुको मागमा ऐक्यवद्धता जनाउँदै सांसद सिंहले राजीनामा दिनुभएको हो ।
समायोजनका नाममा क्रियाशील सदस्यातामा धाँधली भएको भन्दै राजीनामा बुझाएको सांसद सिंहले बताउनुभयो । प्रधानमन्त्री राजीनामा पत्र बुझाउनुअघि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्काका साथै नेता शेखर कोइरालासँग कुराकानी भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कांग्रेसका लागि रातदिन काम गरेका कार्यकर्तालाई पाखा लगाइएको छ । ठेकदार, ब्यापारीलाई क्रियाशील सदस्यता दिइएको छ ।’ नेता सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुनुहुन्छ ।