काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पार्टी निर्णयविपरीत कांग्रेस सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको अनुशासनविरुद्ध निरन्तर गतिविधि गरिरहेका उनीहरुलाई २४ घन्टाभित्र चित्तबुझ्दो जवाफ पठाउनसमेत निर्देशन दिइएको छ । चित्तबुझ्दो जवाफ नपठाए पार्टीको साधारण सदस्यतालगायत पार्टीको जिम्मेवारीबाट निष्कासन गरिने चेतावनी दिइएको छ ।
२२ सांसदलाई सोधिएको स्पष्टीकरणमा नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन २०७३, नेकपा एमालेको विधान २०४९ (संशोधन २०७४ समेत) र नेपाल कम्युनिष्ट पार्टी एमाले सङ्घीय संसदीय दलको विधान २०७७ विपरीत दलीय अनुशासनविरुद्ध कार्य गरेको के कति कारणले त्यस्ता गतिविधि गरिएको हो सोको चित्तबुझ्दो जवाफ पठाउन भनिएको छ । स्पष्टीकरणमा पार्टीविरुद्ध विभिन्न भेला आयोजना गर्ने, गुटगत गतिविधि सञ्चालन गर्ने र पार्टीको निर्णयविरुद्धमा आफू र अरुलाई बहकाउमा पार्ने र संलग्न गर्ने गराउने जस्ता अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक तरिका प्रयोग गरी विपक्षी गठबन्धनमा सामेल भई अपराधपूर्ण कार्य केकति कारणले गरेको हो त्यसको स्पष्ट जवाफ दिन निर्देशन गरिएको छ ।
उक्त स्पष्टीकरण पत्रमा पार्टी हित विपरीत, पार्टीको वैधानिक व्यवस्था र कार्यक्रमको विरुद्धमा सार्वजनिक क्रियाकलाप गरेको पार्टी विधान तथा निर्णय विपरीत गुटबन्दी तथा षडयन्त्र गरेको, पार्टी निर्णय बारबार उल्लङ्घन गरेको, पार्टीप्रतिको निष्ठा र विश्वास नरहने गरी भ्रम फैलाई पार्टी प्रतिको निष्ठा र विश्वासबाट च्युत भएको, पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने गरी निरन्तर विभिन्न क्रियाकलापहरू सञ्चालन गरे गराएका, पार्टी कमिटीको गोपनीयता भङ्ग गरे, गराएको, विपक्षसँग साँठगाँठ गरे गराएको, केन्द्रीय जनप्रतिनिधि संस्थालगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्यहरू निरन्तर गरिरहेको, गराइरहेको र पार्टीको विधान र नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरूले पालना गर्नुपर्ने भनी उल्लेखित कर्तव्यको उल्लङ्घन गरे गराएको पाइएको हुनाले सो कार्य के कति कारणले गरिएको हो सोको स्पष्ट जवाफ माग पत्रमा गरिएको छ ।
हेर्नुहोस् नेकपा एमालेले फ्लोर क्रस गर्ने २२ सांसदलाई पठाएको स्पष्टीकरण पत्र