काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको स्थायी कमिटी वैठक वानेश्वरमा वसेको थियो । वैठकमा उपाध्यक्ष भीम रावल नगएपछि उनलाई भेट्न नेता निवास रावल निवास टोखा पुगेका छन् ।
शेरबहादुर देउवाको पक्षमा संसदमा विश्वासको मत दिने नेता नेपालको ढिपीप्रति असन्तुष्टि जनाउँदै रावलले सांसद पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भइसकेका छैन । एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष वामदेव गौतमलगायतका नेताहरुले राजीनामा फिर्तालिन रावललाई सुझाव दिएका छन् ।
माधव नेपालको मुख्य सहयोगीका रुपमा देखिदै आएका रावल पार्टी एकताको पक्षमा छन् । नेपाल समूहको नेतृत्व गर्दै रावल सहभागी कार्यदलले १० वुँदे सहमतिको खाका बनाएको थियो । तर नेता नेपालले सो सहमति स्वीकार गर्न इच्छा नदेखाएपछि रावल उनीसँग टाढिएका छन् ।
एमालेको विवाद वार कि पारको अवस्थामा पुगेको छ । माधव समूहका सांसदहरु मन्त्री बन्न खुट्टा उचालेर बसेका छन् । उनीहरुले चाडो पार्टी फुटाएर भएपनि सरकारमा सहभागी हुनुपर्ने भन्दै नेता नेपाललाई दवाव दिइरहेका छन् । सो बारे निर्णय गर्न माधव नेपालले आज बोलाएको स्थायी कमिटी बैठकमा उपाध्यक्ष भीम रावल अनुपस्थित भएपछि उनलाई फुकाउन नेता नेपाल घरमै पुगेको बताइएको छ ।
नेपाल समूहका स्थायी कमिटी सदस्यहरूको बैठकमा १० बुँदे सहमति र एमाले एकताको सन्दर्भमा के गर्ने भन्ने बारेमै केन्द्रित रहेर छलफल भइरहेको नेताहरूले बताएका छन् ।
नेपाल समूहको स्थायी कमिटी वैठकमा देउवालाई मतदान नगरेर तटस्थ बसेका योगेश भट्टराई, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्टलगायतका नेताहरु भने सहभागि भएको बताइएको छ ।