काठमाडौं । सरकारले चीनसँग सरकार–सरकार (जिटुजी) मार्फत खरिद गरेको कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप लिन नेपाल वायु सेवा निगमको जहाज आज चीनतर्फ जाँदैछ । निगमको जहाज दोस्रोपटक खोप लिन आज राति ११ बजे वेइजिङ उड्ने भएको हो ।
गत विहिबारनै खोप ल्याउन बेइजिङ उड्ने तालिका तय भए पनि चीनले तयारी नपुगेको भन्दै छ दिन पर्खन भनेपछि बुधबार जहाज त्यसतर्फ जान लागेको निगम स्रोतले जनाएको छ । निगमले खोप ल्याउनका लागि बुधबार, विहिबार र शनिबारका लागि नयाँ तालिका सार्वजनिक गरेको छ ।
यसअघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो भने अहिले पनि सोही संख्यामा खोप ल्याउने जनाएको छ । सरकारले बाँकी थप तीन मेडिकल कार्गो उडानबाट जम्मा ४० लाख डोज खोप ल्याउने जनाएको छ । नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजले १७ हजार ६०० बक्स खोप एकपटकमा ढुवानी गर्ने छ जसमा प्रतिवक्स ४६ डोज खोप हुनेछन् ।