काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको सभाकक्षमा अपरान्ह ३ बजे बैठक बस्ने केन्द्रीय कमिटी सदस्य दीपक देवकोटाले बताउनुभयो ।
देवकोटाकाअनुसार आजको बैठकले चारवटा एजेण्डामाथि गर्ने भएको छ । उहाँले सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा पार्टीको आधिकारिक दृष्टिकोण बनाउने बताउनुभयो ।
त्यसैगरी पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका बारेमा समीक्षा गर्ने एजेण्डामाथि पनि आज छलफल हुनेछ । तीन वर्षभन्दा बढी चलेको एमाले नेतृत्वको सरकारका बारेमा समीक्षा गरी धारणा सार्वजनिक गर्ने तयारी एमालेको छ ।
नेता देवकोटाकाअनुसार पार्टीको आगामी भूमिकाका बारेमा पनि आज छलफल गरी योजना रहेको छ । संगठनात्मक भूमिका अन्तर्गत पार्टी सदस्यता नवीकरण, विधान महाधिवेशन, जनसंगठन व्यवस्थापनका विषयमा पनि आज छलफल हुने भएको छ ।
एमालेले साउन २५ गते विधान महाधिवेशनको मिति तय गरिसकेको छ । सोहीअनुसार पार्टीहित विपरित काम गर्ने नेता, कार्यकर्ताहरुलाई अनुशासनको कारवाही, शुद्धिकरणदेखि निष्काशनसम्मको विषयमा पनि बैठकले छलफल गर्नेछ ।
यसअघि गत आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा बैठकबाट लिनुभएको विश्वासको मतमा पार्टीको निर्देशन विपरित प्रधानमन्त्री देउवालाई मतदान गर्ने २२ सांसदहरुलाई स्पष्टीकरण सोधिएकाले २४ घण्टा पुगेका सदस्यको कारवाहीबारेमा पनि आवश्यक निर्णय हुने बताइएको छ । स्पष्टीकरणपत्र प्राप्त भएको समयदेखि २४ घण्टाभित्र स्पष्टीकरणको जवाफ नबुझाउने वा चित्तबुझ्दो जवाफ नभएमा पार्टी विधानअनुसार कारवाही गर्ने तयारी एमालेले गरेको छ ।

























